Skip to main content

सूचना–प्रविधिमा भारतीय एकाधिकार अन्त्य, नेपाल–चीन अप्टिकल फाइबरको सफल परीक्षण

दूरसञ्चार सेवाका लागि तारयुक्त प्रविधिबाट विश्व सन्जालमा जोडिन भारतको मात्रै भर पर्दै आएको नेपालले अब चिनियाँ बाटो प्रयोग गर्न सक्ने भएको छ ।
गत साता जमिनमार्गबाट चीनसँग अप्टिकल फाइबर जोडिएपछि नेपालको सूचना प्रविधिमा भारतीय एकाधिकार अन्त्य भएको हो । ‘रसुवागढी नाकाबाट हामी चीनसँग अप्टिकल फाइबरमा जोडियौं,’ नेपाल टेलिकमका सहप्रवक्ता डिल्लीराम अधिकारीले भने, ‘त्यसको सफल परीक्षण पनि भइसक्यो, अब चाँडै व्यावसायिक प्रयोग सुरु हुन्छ ।’
रसुवागढी नाका हुँदै फाइबरमार्फत नेपाल टेलिकम र सरकारी स्वामित्वको चिनियाँ कम्पनी ‘चाइना टेलिकम्युनिकेसन कर्पोरेसन’ एकआपसमा जोडिएका हुन् । दुवै मुलुकका प्राविधिक टोलीले गत साता फाइबर परीक्षण गरिसकेको छ । परीक्षण क्रममा रसुवागढी नाकाबाट काठमाडौं र बेइजिङ दुवैतर्फ ब्यान्डविथ आदानप्रदान गर्दा सफल भएको थियो ।
पहिरोको जोखिमका कारण रसुवागढीमा जडान गरिएका उपकरण रसुवाको टिम्मुरेमा सार्नुपर्ने भएकाले यसको व्यावसायिक प्रयोगका लागि भने केही समय लाग्ने अधिकारीले बताए । ‘रसुवागढीका अरू सरकारी कार्यालय पनि टिम्मुरेमा सारिएका छन्, त्यहाँ पहिरोको जोखिम छ,’ उनले भने, ‘हामीले पनि पहिरोको जोखिम हेरेर टिम्मुरेमा उपकरण सार्नुपर्ने भयो ।’
सरकारले यसअघि दक्षिण एसियाली सूचना मार्ग (सासेक) अन्तर्गत तातोपानी नाका हुँदै चीनसँग अप्टिकल फाइबर जोड्ने योजना अघि बढाएको थियो । त्यसका लागि तातोपानी नाका नजिकै अप्टिकल फाइबर पुगिसकेको भए पनि चीनसँग जोडिएको थिएन । ‘गत वर्षको भूकम्पपछि दुवैतर्फ पहिरोले अप्टिकल फाइबर विस्तारलाई अवरोध गर्‍यो,’ अधिकारीले भने, ‘त्यसले गर्दा तातोपानीको योजना यता सारिएको हो ।’ चीनसँग अप्टिकल फाइबर जोड्न टेलिकमले धादिङको गल्छीबाट त्रिशूली हुँदै रसुवागढीसम्मै करिब ९० किलोमिटर फाइबर बिछ्याएको हो ।

फाइबर सन्जालमा जोडिएपछि नेपालले अब चिनियाँ कम्पनीसँग ब्यान्डविथ खरिद गर्न सक्नेछ । यसअघि भारतीय र अन्य मुलुकका कम्पनीसँग खरिद गरिँदै आएको थियो । हाल नेपाल टेलिकम भैरहवा, वीरगन्ज र विराटनगर नाकाबाट भारतका विभिन्न दूरसञ्चार सेवाप्रदायसँग जोडिएको छ । नेपाल टेलिकम २०५४ सालमा पहिलोपटक भारतसँग अप्टिकल फाइबरमार्फत जोडिएको थियो ।
नेपाली दूरसञ्चार सेवा भारतीय सन्जाल हँुदै सिंगापुर र हङकङमा रहेका हबमा जोडिने गरेकामा अब चिनियाँ बाटोबाट पनि यी हबमा जोडिन सक्नेछन् । त्यसका लागि नेपाली सेवाप्रदायकले रसुवागढी–केरुङ–तिब्बत हँुदै हङकङ पुग्ने अप्टिकल फाइबर प्रयोग गर्नुपर्छ ।
चीनसँग अप्टिकल फाइबरमार्फत जोडिँदा नेपालले सस्तोमा ब्यान्डविथ पाउनुका साथै भारतसँगको परनिर्भरता कम हुने सूचना प्रविधि विज्ञहरूले बताए । ‘भारतसम्म आइपुग्ने फाइबर नेटवर्क समुद्री मार्ग हँुदै आएका छन्, समुद्रमा फाइबर बिछ्याउन बढी खर्च लाग्छ,’ सूचना प्रविधि विज्ञ मनोहर भट्टराईले भने, ‘चीनको अप्टिकल फाइबर भने जमिनमार्गबाट आएकाले ब्यान्डविथ सस्तो पर्न सक्छ ।’ ब्यान्डविथ सस्तो परे इन्टरनेटको गति बढाउन सहज हुने उनले बताए । सासेकका लागि भएका विभिन्न अध्ययनले अप्टिकल फाइबरका माध्यमबाट नेपाल विश्व सन्जालमा जोडिँदा टेलिफोन र इन्टरनेटको शुल्क कम्तीमा ३० प्रतिशत घट्ने देखाएका छन् ।

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

अब इन्टरनेटबाटै टिभी

Tweet अब इन्टरनेटबाटै जुनसुकै सेटमा पनि टेलिभिजन हेर्न पाइने भएको छ । इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपी टिभी) सञ्चालनको अनुमति पाएकामध्ये दुई कम्पनीले सेवा सुरु गरेपछि उपभोक्ताले यस्तो सुविधा पाउने भएका हुन् । इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन र भायनेटको समेत लगानी भएको नेट टिभी स्ट्रिम्ज् प्रालि र अर्को इन्टरनेट सेवा प्रदायक ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन प्रालिले आईपी टिभी सुरु गरेका छन् । ब्रोडलिंकले बिहीबारदेखि ‘ सेटअप बक्स ’ नै बिक्री सुरु गरिसकेको छ । नेट टिभीले भने हाल मोबाइल एपमार्फत मात्र सेवा सञ्चालन गरिरहेको छ । यो कम्पनीले आगामी एक महिनाभित्र पूर्ण रूपमा सेवा सुरु गर्ने तयारी गरिरहेको छ । नेपालमा आईपी टिभी सुरु भएको यो पहिलो पटक हो । ब्रोडलिंकले जुनसुकै कम्पनीको इन्टरनेट नेटवर्कमार्फत चलाउन मिल्ने गरी सेवा सुरुवात गरेको जनाएको छ । बुधबारदेखि कम्पनीले ४ हजार र ६ हजार रुपैयाँको प्याकेजमा ‘ सेटअप बक्स ’ बिक्री सुरु गरेको हो । ४ हजार रुपैयाँको ‘ सेटअप बक्स ’ किन्नेले एक महिनासम्म सित्तैमा विभिन्न च्यानल हेर्न सक्ने छन् । ६ हजार रुपैयाँको प्याकेजमा भने ६ म...