Skip to main content

यसै महिनाभित्र फोरजीका लागि फ्रिक्वेन्सी

सरकारले यसै महिनादेखि चौथो पुस्ताको दूरसञ्चार सेवा (फोरजी) सञ्चालनमा ल्याउने तयारी थालेको छ । सेवा प्रदायकले फोरजीका लागि फ्रिक्वेन्सी मागे पनि नीतिगत अन्योलका कारण हालसम्म पाउन सकेका छैनन् । करिब पाँच वर्षअघिदेखि नेपाल टेलिकम र एनसेलले फोरजी सेवा सञ्चालनका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग फ्रिक्वेन्सी माग गर्दै आएका छन् । प्राधिकरणले नीतिगत अन्योल भएको भन्दै फ्रिक्वेन्सी वितरण गरेको छैन ।
‘प्रविधि अगाडि बढिसकेको अवस्थामा फोरजीमा जानुको विकल्प छैन,’ सञ्चार सचिव दिनेश थपलियाले भने, ‘त्यसलाई मध्यनजर गरेर सरकारले समयसीमा नै निर्धारण गरेर फोरजी लगायतका नीतिगत सुधार गर्न लागेको हो ।’ सञ्चार मन्त्रालयले नीतिगत सुधार गर्नका लागि भन्दै केही दिनदेखि सेवा प्रदायक, विज्ञ एवं प्राविधिकसँग छलफल अघि बढाएको छ ।
बुधबार सञ्चारमन्त्री शेरधन राई, सचिव थपलिया र सहसचिव सुरेश आचार्यसहित मन्त्रालयको टोली दूरसञ्चार प्राधिकरणमा गएर फोरजी सेवा विस्तारलगायत सेवा सुधारका लागि निर्देशन दिएको छ । ‘हामीले फोरजी मात्र होइन सबैखाले सुधारका लागि प्राधिकरणलाई कार्ययोजना बनाउन भनेका छौं,’ थपलियाले भने, ‘उसले कार्ययोजना बनाएपछि अरू काम अघि बढ्छ ।’

प्राधिकरणका अधिकारीहरूका अनुसार मन्त्रालयको टोलीले एक साताभित्र ‘सुधारको कार्ययोजना’ पेस गर्न निर्देशन दिएको छ । ‘असारभित्र जसरी पनि फोरजीका लागि फ्रिक्वेन्सी वितरण गरिसक्नुपर्छ,’ मन्त्री राईले प्राधिकरणको छलफलमा दिएको निर्देशन उद्धृत गर्दै प्राधिकरणका एक अधिकारीले भने ।

फोरजी सेवा विस्तारसँगै दूरसञ्चार सेवा प्रदायकलाई एक आपसमा गाभ्ने नीति अघि बढाउन भन्दै मन्त्रालयले मंगलबार विज्ञ, प्राविधिक र सेवा प्रदायकसँग छलफल गरेको थियो । यसैगरी मन्त्रालयले प्राधिकरणलाई सर्वसाधारणको समेत सेयर रहने गरी छुट्टै दूरसञ्चार पूर्वाधार विकास गर्ने कम्पनी ल्याउने नियमावली बनाउने प्रक्रिया अघि बढाउन पनि निर्देशन दिएको छ । मन्त्रालयले ग्रामीण दूरसञ्चार कोषको रकम खर्च गर्नलाई विस्तृत कार्ययोजना पेस गर्न पनि दिर्नेशन दिएको प्राधिकरणका अधिकारीले बताए ।
फोरजी सेवा विस्तारका लागि भन्दै एनसेलले १५ मेगाहर्ज र टेलिकमले २० मेगाहर्ज फ्रिक्वेन्सी माग गरिसकेका छन् । प्राधिकरणले भने अहिले दोस्रो पुस्ताको दूरसञ्चार सेवा (टुजी) सञ्चालन भइरहेको १ हजार ८ सय मेगाहर्ज ब्यान्डमा नै फोरजी सेवा सञ्चालन गर्न मिल्ने गरी यी कम्पनीलाई फ्रिक्वेन्सी दिने तयारी गरेको छ । यसरी पुरानै ब्यान्डमा नयाँ प्रविधि अपनाउन फ्रिक्वेन्सी दिनुलाई प्रविधि तटस्थता (टेक्नोलोजी न्युट्रालिटी) भनिन्छ । प्रविधि तटस्थतामा फ्रिक्वेन्सी वितरण गर्दा दस्तुर कम हुने भएकाले छुट्टै ब्यान्डमा फ्रिक्वेन्सी दिनुपर्ने विज्ञहरूले सुझाव दिँदै आएका छन् ।
दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्य निर्धारण) सम्बन्धी नीति २०६९ अनुसार पुरानै ब्यान्डमा नयाँ प्रविधिका लागि फ्रिक्वेन्सी दिँदा १ दशमलव ५ गुणा बढी दस्तुर असुल गर्न सकिने व्यवस्था छ । यो आठ सय, नौ सय र १ हजार ८ सय ब्यान्डको फ्रिक्वेन्सीका लागि तोकिएको हो । नीतिअनुसार न्यूनतम फ्रिक्वेन्सी पाउने सेवा प्रदायकले वार्षिक आम्दानीको ० दममलव ४ प्रतिशत दस्तुर बुझाउनुपर्छ ।

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

अब इन्टरनेटबाटै टिभी

Tweet अब इन्टरनेटबाटै जुनसुकै सेटमा पनि टेलिभिजन हेर्न पाइने भएको छ । इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपी टिभी) सञ्चालनको अनुमति पाएकामध्ये दुई कम्पनीले सेवा सुरु गरेपछि उपभोक्ताले यस्तो सुविधा पाउने भएका हुन् । इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन र भायनेटको समेत लगानी भएको नेट टिभी स्ट्रिम्ज् प्रालि र अर्को इन्टरनेट सेवा प्रदायक ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन प्रालिले आईपी टिभी सुरु गरेका छन् । ब्रोडलिंकले बिहीबारदेखि ‘ सेटअप बक्स ’ नै बिक्री सुरु गरिसकेको छ । नेट टिभीले भने हाल मोबाइल एपमार्फत मात्र सेवा सञ्चालन गरिरहेको छ । यो कम्पनीले आगामी एक महिनाभित्र पूर्ण रूपमा सेवा सुरु गर्ने तयारी गरिरहेको छ । नेपालमा आईपी टिभी सुरु भएको यो पहिलो पटक हो । ब्रोडलिंकले जुनसुकै कम्पनीको इन्टरनेट नेटवर्कमार्फत चलाउन मिल्ने गरी सेवा सुरुवात गरेको जनाएको छ । बुधबारदेखि कम्पनीले ४ हजार र ६ हजार रुपैयाँको प्याकेजमा ‘ सेटअप बक्स ’ बिक्री सुरु गरेको हो । ४ हजार रुपैयाँको ‘ सेटअप बक्स ’ किन्नेले एक महिनासम्म सित्तैमा विभिन्न च्यानल हेर्न सक्ने छन् । ६ हजार रुपैयाँको प्याकेजमा भने ६ म...