Skip to main content

सुनचाँदीमा बढी कर छली

सुनचाँदी र कपडा व्यवसायी अरूभन्दा कर छलीमा अगाडि देखिएका छन् । राजस्व अनुसन्धान विभागले सामान बरामद गरी कारबाही अघि बढाएको तथ्यांकका आधारमा सुनचाँदी र कपडा व्यापारीले बढी कर छल्ने गरेका हुन् । विभागले चालु आर्थिक वर्षको जेठसम्म बरामद गरेका सामान र तिनको कारोबार विवरण हेर्दा सबैभन्दा धेरै कपडा व्यवसायीले कर छलेको देखिएको छ । त्यसपछि बढी कर छल्नेमा सुनचाँदी व्यवसायी छन् ।
‘राजस्व चुहावटको आशंकामा पक्राउ परेका व्यवसायीको विवरणका आधारमा कपडा र सुनचाँदीमा बढी गडबडी देखिएको छ,’ विभागका महानिर्देशक निर्मलहरि अधिकारीले भने, ‘हामीले विभिन्न क्षेत्रमा गरेका अनुसन्धानमा यिनै व्यवसायीको संलग्नता बढी देखियो ।’
विभागले चालु आर्थिक वर्षको जेठसम्ममा विभिन्न अभियोगमा ३० व्यवसायीलाई कारबाही अघि बढाएको छ । त्यसमध्ये सुनचाँदी र कपडासम्बन्धी मात्र २१ वटा रहेका छन् । विभागले जेठसम्ममा राजस्व छली गरेको आशंकामा ३५ किलो एक सय ग्राम सुन र २३ किलो तीन सय ७५ ग्राम चाँदी बरामद गरेको छ । फरक–फरक स्थानबाट १० व्यवसायीले आयात गरेको सुनचाँदी र त्यसबाट बनेका गहना जाँच गर्दा राजस्व छलेको पाइएको हो । व्यवसायीले ढिक्का सुन, कच्चा चाँदीका साथै विभिन्न पत्थरजडित गहनामा समेत राजस्व छल्ने गरेका छन् ।
यसैगरी विभिन्न खाले कपडा व्यवसायमा पनि राजस्व छली धेरै हुने गरेको विभागले जनाएको छ । जेठसम्ममा विभागले विभिन्न स्थानबाट कर छलीको आशंकामा ११ व्यवसायीको सामान बरामद गरेको हो । राजस्व छल्नेमा थानसहित रेडिमेड कपडा व्यापारीसमेत छन् ।
विभागले कर छलीको अरोपमा मलमल कपडा, कुर्ता सलवार, टिसर्ट, टप्स, जिन्स पाइन्ट, रेडिमेड कपडा, साडी, भेस्टलगायतका कपडा बरामद गरेको छ । जेठसम्ममा विभागले ८ वटा मुद्दा दर्ता गरेको छ भने अरूका विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

भन्सार जाँचपास भएर आएका वा भन्सार छलेर भित्र्याइएका वस्तुको समेत विभागले सूचनाको आधारमा अनुसन्धान गर्ने गरेको छ । महानिर्देशक अधिकारीका अनुसार पछिल्लो समयमा सबैभन्दा धेरै मूल्य अभिवृद्धि कर (भ्याट) र आय कर छलीका घटना आउने गरेका छन् । विभागले भन्सार, अन्त:शुल्क र भ्याट छलीका घटनामा आफैं अनुसन्धान अघि बढाउँछ भने आयकर छलीका घटनालाई आन्तरिक राजस्व विभागलाई अनुसन्धानका लागि पठाउने गरेको छ ।
काँचो सुन ल्याउन प्रतिबन्ध
विदेश बसेर आउनेका लागि सहुलियत दिन गरिएको व्यवस्था दुरुपयोग गर्दै भन्सार छली बढेपछि सरकारले काँचो सुनचाँदी ल्याउन प्रतिबन्ध लगाएको छ ।
भन्सार विभागले सूचना निकालेर गहनाबाहेक अन्य सुन ल्याउन नपाउने व्यवस्था गरेको हो । ‘साउन १ देखि लागू हुनेगरी हामीले काँचो सुन ल्याउन नपाउने निर्णय गरेका हौं,’ विभागका महानिर्देशक शिशिर ढुङ्गानाले भने, ‘विदेशबाट आउने नेपालीले पचास ग्रामसम्मको गहना भने लगाएर आउन पाउनेछन् ।’
यसअघि सरकारले कम्तीमा ६ महिना बसेर आउनेले ५० ग्रामसम्म सुन तथा सुनका गहना भन्सार नतिरी ल्याउन पाउने व्यवस्था थियो । वैदेशिक रोजगारीमा जाने नेपालीलाई घर फर्कंदा विभिन्न व्यक्तिले सुन भरिया बनाउने क्रम बढेपछि सरकारले यस्तो निर्णय गरेको हो ।
‘सीमित मात्रामा काँचो सुनचाँदी ल्याउन पाउने व्यवस्थाको आडमा विभिन्न व्यवसायीले ठूलो मात्रामा राजस्व छलीसमेत गर्ने गरेकाले यस्तो व्यवस्था गरिएको हो,’ विभागका अर्का एक अधिकारीले भने ।
व्यवसायीविरुद्ध मुद्दा
घरेलु तथा साना उद्योग कार्यालयले कम गुणस्तरको सुनचाँदी बिक्री गरेको भन्दै नारायणगढका ६ व्यवसायीविरुद्ध जिल्ला अदालतमा मुद्दा चलाएको छ ।

ग्राहकलाई कम गुणस्तरको सुनचाँदी बिक्री गरेको आरोपमा बराली गहना सप्लायर्सका सञ्चालक प्रविन्द्र बराली, जीवनज्योति ज्वेलर्सका जीवनज्योति विश्वकर्मा, जय सन्तोषीमा सोरुमका बिपेन्द्र रामुदामु, माँजानकी ज्वेलर्सका बिकी साहसोनी, जगदम्बा सुनचाँदीका चन्दनप्रसाद सर्राफ र लोकमान एन्ड सन्सका सञ्चालक ज्ञानेन्द्रमान शाक्यविरुद्ध मुद्दा दर्ता गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
उपभोक्ता संरक्षण ऐन २०५४ को दफा १८ ‘क’ र ‘घ’ बमोजिम उनीहरूमाथि सजायको माग दाबी गरिएको छ । आरोप प्रमाणित भए ५ वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।
गुणस्तर तथा नापतौल विभाग, वाणिज्य तथा आपूर्ति व्यवस्था विभाग, जिल्ला प्रशासन र उपभोक्ता संस्थाका प्रतिनिधिले अनुगमन गर्दा कम गुणस्तरको सुनचाँदी फेला पारेका थिए ।

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु