Skip to main content

दुर्गममा अझै पुगेन टेलिफोन

‘टावर राख्ने सर्भे भएको धेरै भइसक्यो, अहिलेसम्म बनेको छैन,’ गत सोमबार डोल्पाका सांसद धनबहादुर बुढा सञ्चारमन्त्री शेरधन राईको कार्यकक्षमा गुनासो गर्दै थिए, ‘मुलुकभर टेलिफोन पुग्यो भनिन्छ, हाम्रो जिल्लाका धेरै स्थानमा अझै छैन ।’
उनी उपल्लो डोल्पाका सात र अन्य दुई गाविसमा जतिसक्दो चाँडो दूरसञ्चार सेवाका लागि टावर बनाइदिन माग गर्दै थिए । ‘जनसंख्या थोरै छ, जिल्ला विकट हो तर सञ्चार सुविधा पुर्‍याइदिनुपर्‍यो नि मन्त्रीज्यू,’ उनले राईलाई भने । बुढाको गुनासो सुनिसकेपछि सञ्चारमन्त्रीले चाँडै सेवा पुर्‍याउन पहल गर्ने आश्वासन दिए । तर, कहिले डोल्पाको विकट क्षेत्रको ९ गाविसका जनताले टेलिफोन सेवा पाउने हुन् भन्ने न सञ्चारमन्त्रीले भन्न सक्छन्, न त सांसद बुढाले ।
‘मैले यी ९ गाविसमा सेवा पुग्ने गरी टावर राखिदिन माग गरेको दुई वर्ष भइसक्यो,’ बुढाले कान्तिपुरसँग भने, ‘तर, अहिलेसम्म सुनुवाइ हुन सकेन ।’ उनले विकट क्षेत्रमा प्राकृतिक प्रकोप आएर आपत् परे फोन गरेर प्रहरीलाई बोलाउने अवस्थासमेत नभएको बताए । ‘कराएर बोलाउँदा सुन्न सक्ने ठाउँमा घर छैनन्,’ उनले भने, ‘फोन गरेर बोलाउनुपर्‍यो भने सेवा छैन, गाउँमै मान्छे मर्ने अवस्था आउँछ ।’
सरकारले सबै गाविसमा टेलिफोन सेवा पुगिसकेको बताए पनि उपल्लो डोल्पाजस्तै विकट क्षेत्रमा बासिन्दाले अझै दूरसञ्चार सेवा पाउन सकेका छैनन् । डोल्पामा पनि केही वर्षअघि नेपाल स्याटलाइटले सेवा सुरु गरेको थियो । दुर्गममै सेवा दिने दाबी गर्दै उक्त कम्पनीले सस्तोमा लाइसेन्स लिएको थियो । तर, अहिले यो कम्पनीको सेवा बन्द रहेको सांसद बुढाले जनाकारी दिए । कर्णालीसहित केही जिल्लाका विकट क्षेत्रका गाउँलेले अझै टेलिफोनसमेत चलाउन पाएका छैनन् ।

नेपाल टेलिकमले यस्ता क्षेत्रमा सेवा विस्तार नगरेपछि निजी कम्पनीसमेत गएका छैनन् । ग्राहक आधार एकदमै कम हुने भएकाले विकट क्षेत्रमा पूर्वाधार विकासमा गरेको लगानीअनुसार प्रतिफल नआउने हुँदा निजी कम्पनी जान चाहँदैनन् । डोल्पाका ९ गाविसमा सेवा विस्तारका लागि नेपाल टेलिकमले १२ वटा साइट पहिचान गरिसकेको छ भने ७ वटाको सर्भे गरिसकेको छ । तर, भौगोलिक विकटताको कारण देखाउँदै प्राविधिक जान नमान्दा टावर बन्न नसकेका हुन् ।
‘भौगोलिक विकटताले गर्दा टावर बन्न नसकेका हुन्,’ टेलिकमका सहप्रवक्ता डिल्लिराम अधिकारीले भने, ‘चाँडै नै टावर निर्माण सुरु हुन्छ ।’ उनका अनुसार हालै मात्र टेलिकमले डोल्पा सदरमुकाम दुनैलाई माइक्रो वेब प्रविधिमा जोडेको छ । टेलिकमले अप्टिकल फाइबर र माइक्रो वेब प्रविधिको सञ्जाल विस्तार गरिरहेको छ । यो प्रविधिमा जोडिएपछि दुनैबाट पुरानो भिस्याट प्रणाली प्रतिस्थापन भएको छ । माइक्रो वेब प्रविधिमा जोडिएपछि एडीएसएल, वाइम्याक्सका साथै थ्रीजी गतिको मोबाइल इन्टरनेटसमेत चलाउन सकिने उनले बताए ।
हुम्लामा अझै भिस्याट
अर्को विकट हिमाली जिल्ला हुम्ला सदरमुकाममा भने अझै भिस्याट प्रविधिबाट मात्र टेलिफोन सेवा चलिरहेको छ । अहिलेसम्म अप्टिकल फाइबर वा माइक्रो वेब प्रणालीमा नजोडिएकाले हुम्लामा भने पुरानै प्रविधिमा मात्र टेलिफोन चलिरहेको छ । ‘हामी चाँडै नै हुम्ला सदरमुकामलाई पनि माइक्रो वेब प्रणालीमा जोड्ने तयारीमा छौं,’ सहप्रवक्ता अधिकारीले भने, ‘अहिलेसम्म भने त्यहाँ भिस्याट सेवा मात्र छ ।’

ब्रोडब्यान्ड नीतिमा सरकारले आगामी चार वर्षभित्र मुलुकका सबै गाविसमा ब्रोडब्यान्ड गतिको इन्टरनेट पुर्‍याउने घोषणा गरेको छ । नीतिमा कम्तीमा ५ सय १२ किलोबाइट्स प्रतिसेकेन्ड (केबीपीएस) गतिलाई ब्रोडब्यान्ड मानिएको छ । डोल्पा र हुम्लाजस्ता जिल्लामा अहिलेसम्म टेलिफोन सेवाका लागि टावरसमेत बन्न नकसेकाले सरकारले आगामी चार वर्षमा ब्रोडब्यान्ड सबै जिल्लामा पुर्‍याउने लक्ष्यसमेत अधुरै रहने देखिएको छ ।

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

अब इन्टरनेटबाटै टिभी

Tweet अब इन्टरनेटबाटै जुनसुकै सेटमा पनि टेलिभिजन हेर्न पाइने भएको छ । इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपी टिभी) सञ्चालनको अनुमति पाएकामध्ये दुई कम्पनीले सेवा सुरु गरेपछि उपभोक्ताले यस्तो सुविधा पाउने भएका हुन् । इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन र भायनेटको समेत लगानी भएको नेट टिभी स्ट्रिम्ज् प्रालि र अर्को इन्टरनेट सेवा प्रदायक ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन प्रालिले आईपी टिभी सुरु गरेका छन् । ब्रोडलिंकले बिहीबारदेखि ‘ सेटअप बक्स ’ नै बिक्री सुरु गरिसकेको छ । नेट टिभीले भने हाल मोबाइल एपमार्फत मात्र सेवा सञ्चालन गरिरहेको छ । यो कम्पनीले आगामी एक महिनाभित्र पूर्ण रूपमा सेवा सुरु गर्ने तयारी गरिरहेको छ । नेपालमा आईपी टिभी सुरु भएको यो पहिलो पटक हो । ब्रोडलिंकले जुनसुकै कम्पनीको इन्टरनेट नेटवर्कमार्फत चलाउन मिल्ने गरी सेवा सुरुवात गरेको जनाएको छ । बुधबारदेखि कम्पनीले ४ हजार र ६ हजार रुपैयाँको प्याकेजमा ‘ सेटअप बक्स ’ बिक्री सुरु गरेको हो । ४ हजार रुपैयाँको ‘ सेटअप बक्स ’ किन्नेले एक महिनासम्म सित्तैमा विभिन्न च्यानल हेर्न सक्ने छन् । ६ हजार रुपैयाँको प्याकेजमा भने ६ म...