Skip to main content

मोबाइल अनुमतिपत्र नवीकरण शुल्क घटाउन प्रस्ताव

मोबाइल सेवाको अनुमतिपत्र नवीकरणबापत टेलिफोन कम्पनीहरूले हाल तिरिरहेको शुल्क घट्ने गरी नियामक नेपाल दूरसञ्चार प्राधिकरणले प्रस्ताव अघि बढाएको छ । प्रस्ताव पारित भएमा सरकारले नेपाल टेलिकम र एनसेलबाट मात्र पाँच वर्षमा करिब २० अर्ब रुपैयाँ गुमाउने छ ।
प्राधिकरणले आम्दानी साझेदारी (रेभेन्यु सेयरिङ) अवधारणमा रकम लिने भन्दै नवीकरण दस्तुरका विषयमा नीतिगत स्पष्टता गर्ने प्रस्ताव अघि बढाएको हो । प्रस्तावमा कम्पनीहरूले गरेको वार्षिक आम्दानीको ४ प्रतिशत रकम नवीकरण शुल्क बुझाउनुपर्ने उल्लेख छ । प्राधिकरणले निकालेको आर्थिक वर्ष २०७१/७२ को वार्षिक प्रतिवेदनमा उल्लिखित कम्पनीहरूको आम्दानी विवरण हिसाब गर्ने हो भने प्रस्तावित रकम हाल कम्पनीहरूले ५ वर्षका लागि तिर्दै आएको २० अर्बको आधा मात्र हुन आउँछ ।
प्रधिरणले नवीकरण दस्तुर परिवर्तन गर्ने प्रस्ताव सूचना तथा सञ्चार मन्त्रालयमा पठाएको हो । गत महिना नै प्राधिकरणले मन्त्रालय पठाएको प्रस्ताव हाल सञ्चार सचिव दिनेश थपलियाको संयोजकत्वमा गठित दूरसञ्चार क्षेत्र सुधारसम्बन्धी कार्यादलमा विचाराधीन छ । कार्यदलले प्रस्ताव पारित गरे सञ्चारमन्त्रीमार्फत मन्त्रिपरिषद् लगेर पारित गराइने छ ।
प्राधिकरणको वार्षिक प्रतिवेदनमा नेपाल टेलिकमले आर्थिक वर्ष २०७१/७२ मा ४१ अर्ब १८ करोड १५ लाख ६८ हजार ९८ रुपैयाँ कुल आम्दानी गरेको उल्लेख छ । त्यसको ४ प्रतिशत रकम १ अर्ब ६४ करोड ७२ लाख ६२ हजार ७ सय २३ मात्र हुन आउँछ । प्रत्येक वर्ष टेलिकमले सोही रकम आम्दानी गरेमा ४ प्रातिशतका हिसाबले पाँच वर्षमा कुल ८ अर्ब २३ करोड ६३ लाख १३ हजार ६ सय १५ रुपैयाँ मात्र बुझाउनुपर्ने हुन्छ । यो हाल टेलिकमले ५ वर्षे नवीकरणका लागि बुझाउन तय भएको २० अर्बको तुलनामा आधाभन्दा कम हो ।

टेलिकमभन्दा बढी आम्दानी गरेको एनसेललाई पनि आम्दानीको ४ प्रतिशतका दरले मात्र नवीकरण शुल्क बुझाउन दिँदा हालका २० अर्बभन्दा झन्डै आधा हुन आउने देखिन्छ । प्राधिकरणको वार्षिक प्रतिवेदनमा नेपाल टेलिकमले आर्थिक वर्ष २०७१/७२ मा कुल ५५ अर्ब ५५ अर्ब ५६ करोड ९३ लाख ९४ हजार ९ सय ५३ रुपैयाँ आम्दानी गरेको उल्लेख छ । त्यसको ४ प्रतिशत हिसाब निकाल्दा २ अर्ब २२ करोड १७ लाख ७५ हजार ७ सय ९८ रुपैयाँ हुन आउँछ । यस हिसाबले एनसेलले ५ वर्षमा ११ अर्ब ११ करोड ३८ लाख ७८ हजार ९ सय ९० रुपैयाँ मात्र हुन आउँछ । अहिलेको व्यवस्थाअनुसार एनसेलले पनि ५ वर्षमा २० अर्ब रुपैयाँ नै नवीकरण शुल्क बुझाउनुपर्छ ।
दूरसञ्चार ऐन अनुसार मोबाइल सेवाको अनुमति २५ वर्षका लागि दिन सक्ने व्यवस्था छ । तर एक पटकमा १० वर्षभन्दा बढी अवधिका लागि अनुमतिपत्र दिन मिल्दैन ।
१० वर्षपछि कम्पनीहरूले प्रत्येक ५–५ वर्षमा तोकिएको शुल्क तिरी नवीकरण गर्नुपर्ने प्रावधान छ । सरकारले नेपाल टेलिकमलाई २०५६ सालमा वार्षिक आम्दानीको ४ प्रतिशत वा पछि आउने कम्पनीले कबुल गरेको रकममध्ये जुन बढी हुन्छ सोही नवीकरण शुल्क कायम हुने गरी मोबाइल सेवाको अनुमति दिएको थियो । २०६१ सालमा मोबाइल सेवाको अनुमति पाएको तत्कालीन स्पाइस नेपाल (हालको एनसेल) ले २० अर्ब रुपैयाँ तिर्ने कबुल गरेपछि त्यसैलाई नवीकरण शुल्क कायम गरिएको हो ।
२० अर्ब रुपैयाँ नवीकरण शुल्क कामय भएपछि पनि नेपाल टेलिकम र एनसेलले पहिलो १० वर्षे अवधि सकिएपछि नवीकरण रकम तिर्न आनाकानी गरेका थिए । कसले पहिले रकम तिर्ने भन्ने विषयमा विवाद भएपछि बाबुराम भट्टराई नेतृत्वको सरकार बेला २०६९ साल असोज १४ गते मन्त्रिपरिषद्ले कम्पनीहरूलाई २० अर्ब रकम ८ किस्तामा बुझाउने अनुमति दिएको थियो । सोही निर्णयअनुसार हाल कम्पनीहरूले हरेक वर्ष किस्तामा साढे २ अर्ब रकम बुझाउँदै आएका छन् ।
ऐनअनुसार अब नेपाल टेलिकमले २०७७ साल र एनसेलले २०७६ पछि दोस्रो पटक मोबाइल सेवाको अनुमतिपत्र नवीकरण गर्नुपर्ने हुन्छ । प्राधिकरणले अघि बढाएको प्रस्तावमा एनसेललाई २०७६ सालभित्रै आठ किस्तामा बुझाउन बाँकी सबै रकम बुझाउन लगाइसक्ने र टेलिकमलाई २०७७ सालभित्र बुझाउन लगाइसक्ने उल्लेख छ । त्यस पछिको नवीकरणका लागि भने आम्दानी साझोदारीमा वार्षिक ४ प्रतिशत अघि बढाइने छ ।
सञ्चारसचिव एवं कार्यदलका संयोजक दिनेश थपलियाले वार्षिक आम्दानीका आधारमा नवीकरण शुल्क तोक्नुपर्ने गरी प्रस्ताव आएको बताए । ‘प्रस्ताव आएको सत्य हो,’ उनले भने, ‘त्यस उपर हाम्रो कार्यदलले छलफल गरिरहेको छ ।’ उनले पहिलेको दर नघट्ने गरी निर्णय हुने दाबी गरे । ‘हामी पहिले कम्पनीहरूले तिरिआएको रकम घट्ने गरी निर्णय गर्ने पक्षमा छैनौं,’ उनले भने, ‘प्राधिकरणले प्रस्ताव गर्‍यो भन्दैमा त्यही पास हुन्छ भन्ने हैन ।’

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु