Skip to main content

फोरजीका लागि टेलिकम र एनसेलको आवेदन

नेपाल टेलिकम र एनसेलले पुरानै फ्रिक्वेन्सी ब्यान्डमा चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) चलाउने अनुमति माग्दै दूरसञ्चार प्राधिकरणमा आवेदन दिएका छन् । सरकारले असार अन्तिम साता फ्रिक्वेन्सी नीति संशोधन गर्दै पुरानै ब्यान्डमा फोरजी चलाउन पाउने बाटो खुला गरेपछि टेलिकम र एनसेलले यस्तो आवेदन दिएका हुन् । 
दुवै कम्पनीले ग्लोबल सिस्टम फर मोबाइल (जीएसएम) सेवा चलाउनका लागि यसअघि नै पाएको १ हजार ८ सय मेगाहर्ज ब्यान्डमा फोरजी चलाउने अनुमति माग गरेका छन् । एनसेलले आइतबार र टेलिकमले सोमबार प्राधिकरणमा फोरजीका लागि आवेदन दिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए ।उनका अनुसार दुवै कम्पनीले १ हजार ८ सय मेगाहर्ज ब्यान्डमा ब्यान्डविथ थप गरिदिन पनि माग गरेका छन् । हाल नेपाल टेलिकमसँग यो ब्यान्डमा १५ मेगाहर्ज अपलिंक एवं डाउनलिंक ब्यान्डविथ छ भने एनसेलसँग ११ मेगाहर्ज अपलिंक एवं डाउनलिंक ब्यान्डविथ छ । संशोधित नीतिले यो ब्यान्डमा एक सेवा प्रदायकलाई बढीमा २० मेगाहर्ज अपलिंक एवं डाउनलिंक ब्यान्डविथ दिन सकिने व्यवस्था गरेको छ । सोही व्यवस्थालाई आधार मानी दुवै कम्पनीले ब्यान्डविथ २० मेगाहर्ज पुर्‍याइदिन माग गरेका हुन् ।
सरकारले दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्य) सम्बन्धी नीतिलाई संशोधन गरी पहिलो पटक प्रविधि तटस्थता (टेक्नोलोजी न्युट्रल) प्रणालीमा फ्रिक्वेन्सी वितरण गर्ने व्यवस्था गरेको छ । प्रविधि तटस्थतामा फ्रिक्वेन्सी दिँदा कम्पनीहरूले पुरानो प्रविधि चलाउन लिएकै फ्रिक्वेन्सीमा नयाँ प्रविधिसमेत चलाउन मिल्छ ।
दुवै कम्पनीले आफूहरू प्रविधि तटस्थतामा गई फोरजी सेवा सुरु गर्ने जनाउ दिँदै प्राधिकरणलाई थप फ्रिक्वेन्सीसहित अनुमति दिन माग गरेका हुन् । ‘उनीहरूको आवेदन आएको छ, त्यसउपर छलफल भएपछि निर्णय हुने छ,’ प्रवक्ता अर्यालले भने, ‘अरू प्रक्रियाहरू नीतिअनुसार नै अघि बढ्छन् ।’

फ्रिक्वेन्सी नीतिअनुसार सेवा प्रदायकले प्रविधि तटस्थताको अनुमति पाएपछि प्राधिकरणले कम्पनीहरूसँग सेवा विस्तारसम्बन्धी कार्ययोजना माग गर्ने छ । सेवा प्रदायकले कार्ययोजना पेस गरेपछि प्राधिकरणले निश्चित अवधि र सर्त तोकी तयारीका लागि समय दिनुपर्ने छ । यसरी पाएको समयमा कम्पनीहरूले तयारी पूरा गरी प्राधिकरणको स्वीकृतिमा सेवा सुरु गर्न सक्ने छन् ।
टेलिकमका सहप्रवक्ता डिल्लीराम अधिकारीले अनुमतिका लागि प्राधिकरणमा आवेदन दिइसकेकाले फोरजीका लागि आवश्यक तयारी थालिएको जानकारी दिए । ‘प्रविधि तटस्थतामा फोरजी चलाउने अनुमति पाएलगत्तै हामी कार्ययोजना पेस गरेर काम सुरु गर्छौं,’ उनले भने ।
एनसेलका हकमा भने प्रविधि तटस्थताका लागि अहिलेकै अवस्थामा अनुमति दिने नदिने प्राधिकरण अधिकारीहरू नै अन्योलमा रहेका छन् । ‘एनसेलको करसम्बन्धी विवाद सकिएको छैन, अर्थ समितिले पनि नयाँ अनुमति नदिनु भन्ने निर्देशन दिएको छ,’ प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘यस्तो अवस्थामा हामीले अनुमति दिन सक्ने स्थिति छैन ।’ करसम्बन्धी अन्योल नहटी फोरजीका लागि अनुमति दिने नदिने निर्णय गर्न सहज नभएको उनले बताए । एननसेलको मुख्य विदेशी लगानीकर्ता टेलिया कम्पनीको सेयर बिक्रीबापत तिर्नुपर्ने पुँजीगत लाभकरका विषयमा अन्तिम निर्णय हुन अझै बाँकी छ ।
प्राधिकरणले खोस्यो टेलिकमको फ्रिक्वेन्सी
काठमाडौं (कास)– दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई सीडीएमए प्रविधिको सेवा चलाउन दिएकोमध्ये २ मेगाहर्ज फ्रिक्वेन्सी खोस्ने निर्णय गरेको छ । टेलिकमले ८ सय मेगाहर्ज ब्यान्डमा सीडीएमए सेवा सञ्चालनका लागि ८ मेगाहर्ज अपलिंक एवं डाउनलिंक ब्यान्डविथ पाएको थियो ।

फ्रिक्वेन्सी नीतिको नयाँ संशोधनले यो ब्यान्डमा एउटा सेवा प्रदायकलाई बढीमा ६ मेगाहर्ज मात्र ब्यान्डविथ दिन सक्ने व्यवस्था गरेकाले त्यसैअनुरूप फ्रिक्वेन्सी खोसिएको प्राधिकरणले जनाएको छ । ‘हामीले गत साता नै २ मेगाहर्ज फ्रिक्वेन्सी फिर्ता गराएको जानकारीपत्र टेलिकमलाई पठाइसकेका छौं,’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘नीतिको नयाँ व्यवस्थाअनुसार यो पत्र पठाइएको हो ।’
टेलिकमा सहप्रवक्ता डिल्लीराम अधिकारीले प्राधिकरणले फ्रिक्वेन्सी फिर्ता गरेपछि सेवा विस्तारमा केही समस्या भए पनि पुरानो सेवामा खासै असर नपर्ने जानकारी दिए । ‘सेवामा खासै ठूलो समस्या आउँदैन तर केही प्राविधिक परिवर्तन भने गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘प्राविधिक परिवर्तनका लागि हामीले काम सुरु गरिसकेका छौं ।’
टेलिकमले सीडीएमए प्रविधिबाट ताररहित फोन, मोबाइल (स्काई), डाटा सेवा (इभिडियो) लगायतका सेवा चलाइरहेको छ । टेलिकमका अनुसार सीडीएमए फोन र मोबाइल सेवाका ग्राहकको संख्या करिब १४ लाख छ । त्यसमध्ये १३ लाखले यही प्रविधिबाट इन्टरनेटसमेत चलाउँछन् ।

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु