Skip to main content

नेपालीकाे भान्सामा रुसको धनियाँ, कोरियाको लसुन

नपत्याउनुहोला, हाम्रो भान्सामा मगमगाउने धनियाँ रुसबाट आइरहेको छ । फूल उठाएर खाने मुरली मकै अर्जेन्टिनाबाट । लसुन कोरियाबाट । च्याउ फ्रान्सबाट । बेल्जियमबाट बटर । केन्याबाट कफी । चिलीको ट्राउट माछा । 
यी त थोरै उदाहरण मात्र हुन्, नेपालमा ठूलै मात्रामा खाद्यवस्तु आयात गरिन्छ । तीमध्ये धेरै वस्तु भारत, चीनजस्ता छिमेकीबाट मात्र होइन, निकै परका मुलुकबाट समेत ल्याइने गरेको छ । 

बेल्जियम, कोरिया, चिलीलगायतबाट मात्र होइन, तान्जानिया, मदगास्करजस्ता मुलुकबाट समेत नेपालमा खाद्यवस्तु आयात हुन्छन् । हामीले कमै नाम सुनेका केही सूक्ष्म मुलुक (माइक्रो नेसन) बाट समेत नेपालमा खानेकुरा भित्रिन्छन् । इथियोपियाको सिमी हाम्रो भान्सामा पाकेको हामीले पत्तै पाउँदैनौं ।

हिन्द महासागरको सानो टापु मुलुक कोमोरोस, आयरल्यान्ड र बेलायतको बीचमा पर्ने आइल अफ म्यान मात्र होइन, दक्षिण पश्चिम युरोपेली सूक्ष्म मुलुक एन्डोराबाट पनि नेपालमा खानेकुरा भित्रिएका छन् । भन्सार विभागले निकालेको चालु आर्थिक वर्षको 
११ महिने आयात–निर्यात विवरणअनुसार विश्वका कमै मुलुक छन्, जहाँबाट नेपालमा खानेकुरा भित्रिएको छैन । 
नेपालले विभिन्न मुलुकबाट मासुदेखि दूध, दहीसम्म, तरकारीदेखि महसम्म, आलुदेखि चियासम्म र जिरा, धनियाँदेखि ल्वाङ, सुकमेलसम्म आयात गरेको छ । 

ठूला चौपायादेखि सुँगुर, भेडा, खसीको मात्र होइन, घोडाको मासुसमेत आयात हुन्छ । हाँस, कुखुराको मासुदेखि मूलासम्म विभिन्न मुलुकबाट भित्रने गरेको छ ।

गएको ११ महिनामा सुँगुरको मासु चीन, अस्ट्रेलिया, डेनमार्क, थाइल्यान्ड, इटाली, फ्रान्सलगायतका मुलुकबाट आयात भएको छ । यस अवधिमा ३५ हजार ९ सय ७१ किलो सुँगुरको मासु आएको हो । यसको भन्सारमा उल्लेख गरिएको मूल्य १ करोड ९७ लाख ५७ हजार छ । 

नेपालमा पछिल्ला वर्षमा अन्नको आयात वृद्धि हुँदै गएको छ । गत ११ महिनामा अर्जेन्टिनाबाट मात्र १८ करोड ८२ लाख २२ हजार रुपैयाँको मुरली मकै आयो । त्यो भनेको ४२ लाख ७७ हजार ९ सय किलो हो । 

दैनिक तरकारीमा प्रयोग गर्ने जिरा, धनियाँजस्ता मसला रुसदेखि दक्षिण अमेरिकी मुलुकहरूबाट आयात हुन्छ । ११ महिनामा झन्डै एक अर्बको जिरा र करिब ४० करोडको धनियाँ नेपाल आएको छ । नेपालमा रूस, युक्रेन र भारतबाट धनियाँ एवं एन्डोरा, फिनल्यान्ड, म्यान्मार, भारतलगायत मुलुकबाट जिरा आयात भएको छ । केही वर्ष अघिसम्म इजिप्ट, सिरियालगायतका मुलुकबाट हुने चनाको आयात अहिले अस्ट्रेलियातिर सरेको छ । 

हाम्रो भान्सामा दैनिक पाक्ने आलु भारतबाट आयात हुनु नौलो होइन, तर दक्षिण कोरियासम्मको आयात हामी उपभोग गरिरहेका छौं । त्यो पनि थोरै मात्रामा होइन, ११ महिनामा नै हामीले करिब सवा ३ अर्बको आलु विदेशबाट ल्याएर उपभोग गरेका छौं । भारत, कोरिया र बंगलादेशबाट ३ अर्ब १९ करोडको आलु ल्याइएको हो । 

कोरियाबाटै लसुन र प्याजमात्र भित्रिएको छैन । नेपालीले बहराइनबाट बिटरुट र मूलासमेत आयात गरेका छन् । दक्षिण अमेरिकी देशहरू नेपालको उत्पादनले खासै माग नधान्ने बोडी, सिमी, मटरलगायत गेडागुडी र दालको ठूलो मात्रामा आयात हुनेमा पर्छन् । दक्षिण अमेरिकीसँगै कम विकसित मानिएका अफ्रिकी मुलुकबाट समेत नेपालमा गेडागुडी र दाल भित्रन थालेको छ । चालु आर्थिक वर्षको ११ महिनामा अर्जेन्टिना, ब्राजिललगायतका दक्षिण अमेरिकी मुलुकका साथै चीन, भारत, बेलायत, क्यानडा, साउदी अरेबिया, यूएई, श्रीलंका, टर्की, म्यान्मार, मदगास्कर, केन्या र इथियोपियाबाट गेडागुडी र दाल आयात भएको छ । 

‘नेपालमा अहिले विश्वका अधिकांश मुलुकबाट खानेकुरा आयात हुन्छ,’ भन्सार विभागका निर्देशक सूर्य सेढाईंले भने, ‘सञ्चार र यातायातको सहजताले गर्दा अब कुनै मुलुक टाढाका भएनन् ।’ उनका अनुसार अहिले निर्यातकर्ता कम्पनीहरूले वेबसाइटमै खाद्यवस्तुको विवरण राखेका हुन्छन् । त्यसलाई हेरेर नेपाली आयातकर्ताले सम्पर्क गर्छन् । ‘अहिले व्यवसायीले जहाँबाट सस्तो पर्छ, त्यहींबाट आयात गर्ने प्रवृत्ति देखिएको छ,’ सेढाईंले भने, ‘खानेकुराको आयात केही वर्षदेखि बढेकै देखिन्छ ।’ 

व्यवसायीले आफूले आयात गर्ने मुलुकका निर्यातकर्तासँग सम्पर्क गरेर एलसी खोल्छन् । एलसी खोल्दा नै उनीहरूले कुन मुलुकबाट सामान ल्याउने भन्ने खुलाउनुपर्छ । उनीहरूले विदेशमा रकम पठाउन राष्ट्र बैंकको अनुमतिसमेत लिनुपर्छ । अनुमति पाएर रकम पठाएपछि आयात गर्ने मुलुकका व्यवसायीले नेपाली व्यापारीको नाममा सामान पठाइदिन्छन् । अधिकांश देशबाट पठाएको सामान सिंगापुर र हङकङको बन्दरगाहमा आइपुग्छन् । त्यहाँबाट फेरि भारतका लागि प्रस्थान गर्छन् । कोलकातामा आएपछि त्यहाँबाट भने नेपालमा रेल कार्गोबाट सामान ल्याइन्छ । 

नेपालीले सिधै सम्पर्क नगरेको अवस्थामा सिंगापुर र हङकङका व्यवसायीले कुन मुलुकमा कुन सामान सस्तो छ भन्ने विवरण दिन्छन् । त्यसका आधारमा उनीहरूले नै नेपाली र निर्यातकर्ताबीच सहमति गराइदिन्छन् । त्यसपछि सामान आयात हुन्छ । नेपालमा सामान आयात हुने बाटो भने प्राय: हङकङ र सिंगापुर हुँदै कोलकातातर्फ नै हुने गर्छ ।

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

कथा

Tweet लभ एनिभर्सरी अङ्ग्रेजी महिना अप्रिल । अन्तिम साता । हातमा छ–भर्खरै किनेको निक्कन डी–३२०० क्यामेरा । कस्मिरको गृष्मकालिन राजधानीमा अझै सरकार सरेको छैन । शीतकालिन राजधानी जम्मुतिरै छ । कस्मिरी सरकार हाम्रा हिमाली आदीबासी जस्तो छ । जाडो लागेपछि छ महिना जम्मुतिर झर्छ, गर्मीमा फेरि कस्मिर चढ्छ ।  क्यामेरा सानामा स्कुल जादा भिर्ने गरेको छड्के झोला जस्तै गरि भिरे ।  ‘ट्यूलिप गार्डेन के लिए कित्ना ?’ दलगेट पुगेर टुटेफुटेको हिन्दीमा सोधेपछि तिनपाङ्ग्रे अटो ड्राइभरले अल्छिलाग्दो पारामा आङ तान्दै भन्यो, ‘दो सौ ।’ ‘डेढ सौ मे जाऔगे ?’ आठ नचलाई ड्राइभरले सिटमा बस्न संकेत गर्यो ।  अस्तिसम्म हिउ“ पर्दै थिया े। दुइचार दिनमै मौसम बदलिया े। कत्ति चाडै चर्को घाम लाग्न थाल्यो ? मनमनै गमे । दिउ“सो त गर्मी हुन थालिसक्यो । अटो दल लेकको डिलैडिल दौडिरेहको थियो। करिब आधा घण्टामा अटो रोकियो । नजिकैको बगैचामा कमिलाको ताती जस्तै मान्छे थिए । म पनि गेटमा टिकट काटेर भित्र छिरे । रङ्गीचङ्गी धेरै खाले फूल फूलेको बगैचामा जस्तो मन भुलेन । एकै खालका फूल एकै खाले लहर । मेरो मन ट्युलिप...