Skip to main content

नियन्त्रण रेखाभित्र कैद कश्मीर

गत सोमबार नयाँदिल्लीस्थित लालकिल्ला भारतीय झन्डाले झकिझकाउ भयो । कडा सुरक्षा घेराभित्र सेनाको सलामी खादै नरेन्द्र मोदीले ठीक उसैगरी झन्डोत्तोलन र देशबासीलाई सम्बोधन गरे, जसरी अघिल्लो वर्ष गरेका थिए । मोदी लाल किल्लामा सेनाको सलामी खादै गर्दा दिल्लीबाट हजार किलोमिटर पर कश्मीरको बटमालुमा १६ वर्षीय यासिर शेखको कलिलो छातीले सुरक्षा फौजको गोली खायो । कक्षा १० का विद्यार्थी शेख पाँच सातायता कश्मीरमा भारतीय सुरक्षा फौजद्वारा मारिने ६० औ निहत्था युवा हुन पुगे । जो ३८ दिनदेखिको लगातार कफ्र्यु खेप्न नसकेर घरबाहिर निस्किए र बन्दुके ज्वालामुखीमा परी कब्रस्थानमा दफन भए ।  
लालकिल्लामा उभिएर मोदीले मुलुकलाई ‘स्वराज’बाट ‘सु–राज’मा बदल्ने कर्तव्यको पाठ पढाउँदै गर्दा दक्षिण भारतको बेंगलुरुमा भने प्रहरी अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनललाई कथित ‘देशद्रोह’को मुद्दा लगाउँदै थियो । कारण–उसले ‘राज्य आतंक’ पीडित केही कश्मीरी परिवारलाई सेनाको अत्याचारविरुद्ध बोल्ने अवसर दियो । संस्थालाई त्यही आरोप लगाइएको छ, जुन गत फेब्रुअरीमा दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालय विद्यार्थी नेता कन्हैया कुमारलाई लगाइएको थियो ।

वेबपेजका अक्षरहरूमा मोदीको भाषण, शेखको मृत्यु र बेंगलुरुको घटना नियाल्दै गर्दा, मैले भने आजभन्दा ठीक दुई वर्षअघि अगस्ट १५ को बिहानी सम्झिएँ । त्यस दिन म सुतिरहेको थिएँ– भारत प्रशासित कश्मीरको श्रीनगरस्थित ‘दल लेक’ नजिकै डेरामा । ‘ए उठ्–उठ् मैले आमालाई फोन गर्छु भनेको थिएँ, के भयो हेर्दे न,’ बंगालादेशी साथी मोहम्मद जकरियाले बिहान सात बजेतिर घच्घच्यायो । आँखा मिच्दै उठ्दा झ्यालको पर्दा खुलै थियो । बाहिर झलमल घाम लागिसकेको थियो । घामले बिहानी चम्किसक्दा पनि जकरियाको अनुहारमा चमक देखिएन, किनकि उसले आमालाई दिएको वचन पूरा गर्न सकिरहेको थिएन ।  नोकियाको पुरानो मोडल बोक्ने जकरियाले मोबाइल सेटमा खराबीको शंका गर्दै मलाई उठाएको थियो । ‘खै मेरोमा टावर नै देखाएन तेरोमा छ कि हेर् त,’ उसले म उठी नभ्याउँदै चिच्यायो । उठ्नेबित्तिकै मोबाइलमा आँखा डुलाए । जकरियाको मात्र होइन, मेरो मोबाइलमा पनि टावर देखिएन । सोचें— सायद नेटवर्कमा समस्या आएर होला । ‘कश्मीरमा नेटवर्क आउनु र जानुको भर छैन, गएछ फेरि,’ मैले उसलाई भनें, ‘सरी यार ।’



हरेक दिन उठेपछिको पहिलो काम थियो— दूध लिन जानु । त्यस दिन पनि दूध किन्न भनी डेराबाट निस्किएँ । डेराभन्दा ट्याक्कै पाँच घर कटेपछि आउँथ्यो— कश्मीर विश्वविद्यालयअगाडिको मूल सडक । त्यही थियो— मैले सधैं दूध किन्ने पसल । तर, त्यस शुक्रबार कुनै पसल खुलेका थिएनन् । मूल सडक पुग्नै लाग्दा देखें— रोकिराखेको भारतीय अर्ध सैनिक बल ‘सेन्ट्रल रिजर्व पुलिस फोर्स’ (सीआरपीएफ) को बुलेटफ्रुफ भ्यान ।  दिनहुँ ओहोरदोहोर गरिरहेको सडक सडकजस्तो थिएन । काँडेतारले जेलेर अवरुद्ध पारिएको थियो । तिनका छेउछाउमा ‘एके–४७’ बोकेका सीआरपीएफका जवान देखेपछि संकटकालको राजमार्ग यात्रा सम्झिएँ । शाखा सडकबाट बाहिरिएर मूल सडकमा पुग्ने हिम्मत जुटेन । न त हिम्मत जुटाएर सडकतर्फ निस्किएका सर्वसाधारणलाई नै देखें । 
डेरातर्फ फर्कंदा पाँचवटै घरबाट ‘चुँ....’ सम्मको आवाज सुनिएन, उस्तै ताल थियो डेराघरको पनि । हुन त त्यो भारतको ६८ औं स्वतन्त्रता दिवसको दिन थियो । तर, स्वतन्त्रता दिवसको बिहानी औंसीको मध्यरातजस्तो देखियो । सयौं मान्छे ओहोरदोहोर गर्ने सडकमा मुर्दा शान्ति छाएको थियो । रात छिप्पिएर झ्याउकिरी कराउन छाडेको चिहानघारीझैं । लाग्यो–कतै भिडन्त पो भएछ कि ? सेनाले कसैलाई मारेर हिंसा भड्कियो कि ? तर, मोबाइल नेटवर्क नभएपछि बेखबर बस्नुको विकल्प थिएन ।  स्वतन्त्रता दिवसका लागि सार्वजनिक बिदा दिइएकाले विश्वविद्यालय जानु परेन । कतै घुम्न जाऊँ भने बाहिर हतियारधारीले सडकसमेत थुनेर बसेका छन् । न नेटवर्क छ न बाहिर के हँुदैछ कसैलाई खबर छ । 
‘साहै्र नै पिर लाग्यो के हँुदै छ बाहिर ?’ कोठामा पुगेपछि जकरियाले भन्यो, ‘कतै चिङलाई पो थाहा छ कि ?’ अनि दुवैले निर्णय गर्‍यौं— अर्को कोठामा सुतिरहेको बंगलादेशकै चिङ चात्वा मार्मालाई बोलाउने । जो हामीभन्दा एक वर्षअघिदेखि नै कश्मीरमा अध्ययनरत थिए ।  ‘मोबाइल किन बन्द भएको तँलाई थाहा छ ?’ आँखा मिच्दै उठेको चिङलाई सोधें । 
 ‘इट्स डिपेन्डेन्स् डे अफ इन्डिया, द्याट्स ह्वाई ।’ 
 ‘ह्वाट् ?’ 
‘यप् ।’ 
‘ह्वाई ?’ 
‘दे डन्ट ट्रस्ट इन्डिया, इन्डिया डजन्ट ट्रस्ट देम, सिम्पल ।’ 
ओहो, कत्तिसम्मको ‘ट्रस्ट डिफिसिट’ ! एउटा मुलुक जसले ‘कश्मीर से कन्याकुमारी तक’को नारा लगाउँछ, उसैले आफ्नै स्वतन्त्रता दिवस मनाउन सञ्चार–सम्पर्कसमेत विच्छेद गरिदिन्छ । सोचें— विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुकमा यत्तिसम्म हुन्छ भन्दा सायदै कसैले पत्याउलान् ।  नेटवर्क आएपछि बेलुका स्थानीय समाचार पोर्टलहरू ‘स्क्रोल’ गर्दा थाहा भयो— सहरमा कफ्र्यु लागेको रहेछ । 
मुख्य मस्जिदहरूमा मुसलमानले अत्यन्तै महत्त्व दिने शुक्रबारे प्रार्थना (फ्राइडे प्रेयर्स) गर्न रोक लगाइएछ । कश्मीरको स्वतन्त्रताको माग गर्दै वर्षौंदेखि शान्तिपूर्ण आवाज उठाइरहेका हुरियत कन्फेरेन्सलगायत संगठनका नेताहरू अघिल्लै दिनदेखि नजरबन्दमा रहेछन् । अनि, मुख्यमन्त्री उमर अब्दुल्लाहले चाहिं स्थानीय ‘बक्सी स्टेडियम’मा तीनघेरे सुरक्षाकवचभित्र भारतीय फौजको सलामी खाँदै स्वतन्त्रता दिवस मनाएछन्, जसरी यसपाला जम्मु तथा कश्मीरकी पहिलो महिला मुख्यमन्त्री महेबुबा मुफ्तीले मनाइन् ।
स्थानीय पोर्टलमा यस्तो तस्बिर देखिँदा भारतीय सञ्चार माध्यमले भने कश्मीरमा शान्तिपूर्ण रूपमा स्वतन्त्रता दिवस मनाइएको समाचार पस्किरहेका थिए । तिनका अनलाइन संस्करणमा तीनघेरे सुरक्षाकवचभित्र देखाइएको ‘स्टन्ट’का तस्बिरहरू ‘भाइरल’ बनाइएको थियो । मेरा लागि नयाँ भए पनि कश्मीरीका लाग यो नौलो ‘नाटक’ थिएन । हरेक वर्ष यस्तै ‘नाटक’ मञ्चन हुँदै आएको दशकौं बितिसक्यो । मात्र त्यसका पात्रहरू फेरिन्छन्, रंगमञ्च र कथा भने फेरिएको छैन, न त फेरिएको त कश्मीरीको नियति ।  आजभन्दा ठीक ७० वर्षअघि रच्न सुरु गरिएको यो आधुनिक महाभारतको अन्तिम अध्याय कहिले पूरा हुने हो कसैलाई थाहा छैन । तर, यत्ति भने प्रस्ट छ, जहाँ कौरबको उपस्थितिबिनै ‘हिन्दू राष्ट्रवादी’का पाण्डव (भारतीय सेना र अर्धसैनिक बल) र कश्मीरी स्वतन्त्रताप्रेमीका पाण्डव (अलगवादी कश्मीरी संगठनहरू)को लडाइँ भइरहेको छ । 

त्यसैले त, बहुसंख्यक भारतीयले स्वतन्त्रता दिवस मनाइरहँदा कश्मीरी भने त्यस दिन दुईवटा दिवस मनाउँछन्— स्वतन्त्रता दिवस र कालो दिवस । तर, तिनका लागि दुवै दिवस कुनै खुसियाली लिएर आउँदैनन्, न त आउँछन् ‘आजादी’को ‘तिरंगा’ बोकेर । फगत तिनले लुछेर लान्छन्— कहिले कश्मीरी त कहिले गैरकश्मीरी नौजवानको जवानी । अनि, थप्छन्—कुरुक्षेत्रको कथामा एक सहिदको नाम । किनकि, यो कुरुक्षेत्रमा सेना–प्रहरी मरे भारतको सहिद हुन्छ, अलगवादी मरे कश्मीरीको ।  

हरेक अगस्ट १५ मा दुईवटा फर्मान् जारी हुन्छन्— भारतीय सरकारबाट र अलगवादी संगठनबाट । स्वतन्त्रता दिवसका निम्ति भारतीय फौजले मुख्य सहरी क्षेत्रमा कफ्र्यु लगाउँछ । फोन र इन्टरनेट सेवा बन्द गर्न सेवाप्रदायकलाई उर्दी जारी गर्छ । ‘कालो दिवस’ मनाउने अलगवादी भने कश्मीर बन्द र प्रदर्शनको उर्दी लगाउँछन् । बिचरा † कश्मीरी ‘खुदाकी मर्जी’ भनेर १५ अगस्ट कटाउँछन् ।  ‍‍‍... जब आफू र मृत्युबीचको बिन्दु एकदमै नजिक हुन्छ, मान्छेहरू फुर्सद मनाउन थाल्छन्, ‘हस्पिस’मा राखिएको बिरामीझैं । तिनले समयको सीमितता बिर्सन्छन् । दिमागको शब्दकोशबाट ‘हतारो’लाई ‘डिलिट’ गरिदिन्छन् । अनि बेपर्वाह रमाउँछन्– आफ्नै संसारमा । कश्मीर पुग्ने जो–कोहीले अनुभूत गर्न सक्छ— जीवन र मृत्युको रेखा एकदमै छोटो भएका यी मनुवाहरू समयप्रति अत्यन्तै बेपर्वाह छन् । तिनलाई समयको मूल्यसँग कुनै सरोकार छैन, किनकि उनीहरूले औधि धेरै समय पाए पनि दौडेर कतै पुग्नु छैन । ‘दल लेक’ वा ‘उलार लेक’मा पौडेर कुनै पदक जित्नु छैन ।  ढिलो उठ्नु र चाँडै सुत्नु तिनको रहर होइन । अति सैन्यकरण भएको कश्मीरमा साँझ–बिहान घर बाहिर निस्कने आँट कमैले गर्छन् । सायद ‘मरी लानु के छ र !’ भन्ने भावले पसलमा सामान किन्न जाँदा पसलेले समेत भन्नेबित्तिकै सामान दिँदैनन्, न त हिसाब नै गर्छन् । 

तिनको स्वभाव देखेर लाग्छ— संसारकै सबैभन्दा अल्छे व्यापारी तिनै हुन् । तर, घोरिएर सोचेपछि भन्न मन लाग्छ— ‘जहाँ मान्छेका हरेक गतिविधि बारुदी सुरुङमाथि बारिएको काँडेतारमा कैद छन्— तिनले समय काट्ने मेसो मिलाउन हरेक काम ढिलो नगरी सुख छ र ?’  डेनिस अध्येता हेनरिक भिगले ‘इथ्नोज्’को एक अंक (सन् २००८) मा लेखेका छन्— ‘दीर्घकालीन भएपछि संकट पनि सामान्य बन्छ, किनकि त्यहाँ संकटलाई नै सबैभन्दा धेरै बेहोर्नुपर्छ । तर, कुराहरू कसरी अघि बढ्नुपर्छ भनेर हेर्दा यो सामान्य हुन सक्दैन । संकटको सामान्यीकरणले लगभग अराजकताको आदेशलाई नेतृत्व गर्छ ।’ भिगले भनेझैं, कश्मीरीका लागि द्वन्द्व सामान्य भइसकेको छ, जुन अन्यत्र असामान्य हो । त्यसैले त तिनलाई कहिल्यै हतार हुँदैन, किनकि बर्सेनि हप्तौंसम्म कफ्र्यु जो भोग्नु छ, जस्तो कि अहिले पाँच सातादेखि तिनले कफ्र्यु जीवन बिताइरहेका छन् ।  प्राकृतिक छटा र मान्छेको कथा एकै होइनन् । कतिले प्राकृतिक छटालाई मान्छेको खुसीसँग जोड्छन् र भन्छन्— ‘सुन्दर ठाउँ, खुसी अनुहार ।’ कसैका निम्ति यो मिल्न सक्ला, तथापि कश्मीरीका हकमा प्राकृतिक छटा र त्यसको सुन्दरतासँग तिनको अनुहार मिल्न सक्दैन । जसरी वरिपरि डाँडाँपाखा हिउँले ढाकिँदा मुसुक्क मुस्काएजस्तो लाग्छ, उसैगरी तिनका मुहारमा मुस्कान भरिन सकिरहेको छैन । किनकि, गएको पच्चीस वर्षमा हरेक कश्मीरीले कुनै न कुनै आफन्त गुमाएका छन्, परिवारका कोही न कोही अंगभंग भएका वा बेपत्ता पारिएका छन् । पहाडको चेपबाट बग्ने नदीजस्तो तिनको मन सफा हुन सकिरहेको छैन, किनकि हरेकले देखेका छन्— ती खोलामा आफन्तको रगत मिसिएको छ । तिनको वियोगले मन चिरिएको छ ।  ... कुनै बेला सभ्यताको त्रिवेणी थियो कश्मीर । 

जहाँ इतिहासका विभिन्न कालखण्डमा मिलन भएका थिए, तीन शक्तिशाली दर्शनहरू— हिन्दू, बौद्ध र इस्लाम । ऋषि संस्कृति, शैव र सुफी दर्शनको केन्द्र थियो कश्मीर । ऐतिहासिक शारदा पीठ (हाल पाकिस्तान कश्मीर रहेको क्षेत्र) मा चीन, मध्यएसियादेखि ग्रीससम्मका विद्वान आउँथे— दर्शनहरूको तुलनात्मक अध्ययन गर्न । तिनका बीच शास्त्रार्थ चल्थ्यो, राजा–महाराजासमेत तिनमा सामेल हुन्थे । कतिपय विद्वानले विश्वव्यापीकरणको पहिलो खुड्किलो मानेको ऐतिहासिक रेसम मार्ग (सिल्क रोड) को एक हिस्सा यही हिमाली उपत्यका हुँदै पार गर्थ्याे । इतिहासको लामो कालखण्डमा स्वर्णभूमि बनेको कश्मीरमा अहिले दर्शनका विषयमा शास्त्रार्थ हुँदैन । न त पार गर्छन् कुनै रेसम मार्गका रेखाहरू । फगत कोरिएको छ— ‘नियन्त्रण रेखा (लाइन अफ कन्ट्रोल–एलओसी)’ एउटै कश्मीरलाई दुई मुलुकमा विभाजन गर्न । अनि हरेक वर्ष दर्जनौंपटक गोलाबारी गर्छन्— यी दुई आणविक शक्तिका नौजवानहरू एकआपसमा । 

भारत र पाकिस्तानतर्फको कश्मीरलाई छुट्ट्याउने सिमाना हो— एलओसी, जसले सन् १९४८ देखि आजसम्म पाएको छैन— अन्तर्राष्ट्रिय सीमाको मान्यता । भलै सन् १९७२ मा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी र पाकिस्तानी प्रधानमन्त्री जुल्फिकर अली भुट्टोले ‘सिमला सम्झौता’ गर्दै एलओसीलाई नै दुई मुलुकको सिमाना करार गरिदिएका हुन् ।  सन् १९४८ को पहिलो भारत–पाक लडाइँ अन्त्यका लागि युद्धविराम हुँदा कोरिएको रेखा थियो— एलओसी । जसलाई त्यस बेला युद्धविराम रेखा (सिस फायर लाइन) का नामले चिनिन्थ्यो । जसलाई एलओसी नामकरण गरेको हो— सिमला सम्झौताले । यसबीच सयौं भारत–पाक बैठक भए, उच्च पदस्थहरू भ्रमणमा गए, तर आजका दिनसम्म करिब ८ सय किलोमिटरको एलओसी अन्तर्राष्ट्रिय सीमा हुन सकेको छैन ।  एलओसीको साढे ५ सय मिटरमा भारतीय फौजले अग्लो तारबार लगाएको छ । आठदेखि १२ फिट अग्ला काडेतारसँगै मोसन सेन्सर, थर्मल इमेजिङ डिभाइस, लाइटिङ प्रणाली र अलार्म राखिएका छन् । भारतीय सेनाको दाबीमा यस्तो तारबार लगाएपछि पाकिस्तानबाट आउने हतियारधारीको संख्यामा ८० प्रतिशतले कमी आएको छ । तर यो तारबार दुई देशको सीमा छुट्ट्याउने सीमा मात्र होइन । 

यसले हज्जारौं कश्मीरी परिवारलाई टुक्र्याएको छ— दोस्रो विश्वयुद्ध पछिको बर्लिन वालले जस्तै । अहिले पनि दुई कश्मीरमा कैयौं परिवार प्रतीक्षारत छन् पुनर्मिलनका लागि ।  हुन त आत्मविश्वास निर्माण सूचक (कन्फिडेन्ट विल्डिङ मेजर्स–सीबीएम) का रूपमा भारत प्रशासित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगरबाट पाकिस्तान प्रशासित कश्मीरको राजधानी मुजफ्फरवादसम्म सातामा दुई दिन बस चल्छ । सन् २००५ मा सुरु बस सेवाका दुई रुट छन्— श्रीनगर–मुजाफ्फरवाद र पुन्च–रावलाकोट । जसलाई ‘करावन्–ए–अमन’ (शान्ति कायम गरौं) समेत भनिन्छ । दुवैतर्फबाट बसहरू एलओसीको ‘अमन सेतु’ (शान्ति साँघु) पार गर्दै १ सय ७० किलोमिटरको दूरी पार गर्छन् । तर, यी बसमा यात्रा गर्न तिनैले मात्र पाउँछन् जसका पारिवारिक सदस्य सीमापार छन् भन्ने पुष्टि गर्न सक्छन् । जसका परिवार एलओसीद्वारा विभाजित छन्— तिनले समेत पुस्ट्याइँका कागजात पेस गर्न नसके बस सेवा लिन पाउँदैनन् । 

शान्तिपूर्ण रूपमा अलगवादी आन्दोलन चलाइरहेका संगठनका नेतालाई भने वारि–पारि गर्ने छुट छ । सीबीएमका लागि चलाइएको बस सेवासमेत कश्मीरमा जारी पछिल्लो हिंसाले बन्द हँुदै, खुल्दै गरिरहेको छ । गत जुलाई ८ मा हिजबुल मुजाहिद्दिन कमान्डर बुरहान वानी मारिएपछि दन्किएको आगो पाँच साता हुँदा पनि निभ्न सकेको छैन । वानीको मृत्युपछि अहिलेसम्म ६५ निशस्त्र कश्मीरीले ज्यान गुमाइसकेका छन् । तिनका परिवारले शोक मनाइरहँदा गएको सोमबार दिल्ली भने आफ्नो ७० औं स्वतन्त्रता दिवस मनाइरहेको थियो । टेलिभिजनमा भारतका मेट्रो सिटीहरूमा स्वतन्त्रताको जयजयकार र झन्डोत्तोलन हेर्दै गर्दा म भने सोच्दै थिए— कश्मीरीले पनि यस्तै खुसी हुने दिन कहिले आउला ? कि आउँदै नआउला ? 

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु