Skip to main content

कश्मीर डायरी: धर्तीको स्वर्ग, जहाँ हतियारको राज छ


२०७० चैत २३ गते ‘गो एयर’ को उडान नम्बर ‘जी–८–२०१’ बाट श्रीनगर विमानस्थल पुग्दा आकाश धुम्म थियो । सिमसिम पानी पर्दै थियो । 
विमानका चक्का धावनमार्गमा थामिए । परिचारिकाले ढोका खोल्ने सूचना दिनुपूर्व डुले मेरा आँखा झ्यालबाहिर । धुम्म आकाशमुनि भुइँको ओछ्यान लगाएर सुतिरहेका थिए एक हूल भारतीय सैनिक । तिनका हातमा थिए अत्याधुनिक हतियार । ‘
एयरपोर्टमै यत्रा आर्मी ?’ सँगै सिटमा बसेकी नेपाली साथीले कान फुकिन्, ‘लौ गाह्रो हुन्छ जस्तो छ, दुई वर्ष कसरी टिक्नु ?’ ‘डराउनु पर्दैन त्यस्तो खास केही हुँदैन,’ मेरो मुखबाट यस्ता शब्द निस्किए पनि मन भने डराइरहेको थियो । डरले मुटु थर्कियो । कामेको शरीर कसैले देख्लान् भनेर जोगाउन खोज्दै थिएँ, धावनमार्गबाट विमानस्थल कक्षमा पस्ने ढोकैमा एक यात्रुले भनिहाले, ‘निकै जाडो भएजस्तो छ, पहिलोपल्ट कश्मीर आउनुभएको हो ?’ मैले उत्तर नफर्काउँदै सुरक्षाकर्मीले ‘तलासी’ लिन थाले । धन्य, डरले कामेको शरीरलाई जाडोले भन्ने बहाना त मिल्यो । मनमनै धन्यवाद दिएँ– कश्मीरको चिसोलाई । 

विमानस्थल कक्षमा पर्यटक होइन, कश्मीरीकै भीड थियो । कमिलाको ताँतीझैं लगेज लिन लाइन लाग्नेका मुहार कान्तिविहीन थिए । मुस्कानरहित मुहार लिएर उभिनेहरू आकाशजस्तै धुम्म देखिए । द्वन्द्वको छायामा झन्डै ७० वर्ष बिताइसकेका यी अनुहार सायद भित्रभित्रै आँसुको सिमसिम पानी पारिरहेका हुँदा हुन् । हरेक जाडो याममा यिनीहरू न्यानो खोज्दै दिल्लीतर्फ झर्छन् । गर्मी सुरु हुनै लाग्दा श्रीनगरतिर चढ्छन्– साइबेरियाका चराहरू जाडो छल्न बसाइ सरेझैं । मान्छेका के कुरा, यहाँको त सरकार पनि राउटेजस्तो छ । जाडो लागेपछि जम्मुतिर झर्छ, गर्मीमा श्रीनगरतिर सर्छ । हरेक वर्ष गर्मी याममा जम्मु–कश्मीरको राजधानी श्रीनगर हुन्छ, जाडो याममा जम्मु ।

...

बेल्टबाट निकालेर लगेज घिसार्नेको लर्को लाग्यो । छेउमा बसेका प्रहरीले ठूलो ‘ह्यान्ड क्यारी’ तर्फ सिकारी आँखाले हेर्न थाले । तिनका हेराइमा ‘यात्रुहरू बम बोकेरै आएका छन् कि ?’ भन्ने भाव देखियो । एक–एक गरी तिनले झोला खोतल्न थाले । 

‘आप कहाँ से ?’ मेरो पालो आएपछि लामो दाह्री मुसार्दै प्रहरीले सोध्यो । ‘नेपाल से’ नमिलेको लवजमा उत्तर दिएँ । ‘आप मुस्लिम है ?’ लाग्थ्यो उसलाई मेरो झोलासँग मतलब छैन, मात्र जान्न चाहन्छ– मेरो धर्म । जसरी हामी पहिलो भेटमै जान्न चाहन्छांै–कसैको थर । सोध्न चाहन्छौं– कसैको घर । ‘नही’ मेरो लवज नमिलेर होला मुसुक्क मुस्काउँदै उसले सोध्यो, ‘हिन्दु है ?’ मैले सहमतिमा मुन्टो हल्लाएँ । ‘कोही बात नही इधर से जाओ ।’ झोला छुँदै नछोई बाहिरिने बाटो देखाइदियो । 

कश्मीर विश्वविद्यालयमा पढ्ने गरी ‘साउथ एसिया फाउन्डेसन’को छात्रवृत्ति पाएपछि मन दोधारमा थियो । हिम्मत गरेर पढ्न जाने निधो गरे पनि हितैषीहरूको सल्लाहले हतोत्साही बनाइरहेको थियो । मनसँगको लडाइँमा मस्तिष्कले जित्यो । ‘जे पर्ला पर्ला पढ्न त जानैपर्छ’ भन्ने दुस्साहस गरेर निस्किएको थिएँ, कश्मीरतर्फ । 

श्रीनगर पुगेपछि साथीभाइका कुरा झल्झली याद आए । कश्मीरमा पढ्न जान लागेको सुनाउँदा हरेकले आत्तिँदै ‘त्यस्तो ठाउँमा किन जान लाग्या ?’ भनेका शब्दहरू कानमा गुन्जिरहेका थिए । ‘आपका मकसद क्या है ?’ विमानस्थलबाहिर अलमलिएको देखेपछि एउटा प्रहरीले सोध्यो । आफ्नै सुरमा गमिरहेको म झस्किएँ । नेपाल र साथीभाइका सल्लाह सम्झँदा विश्वविद्यालयले पठाइदिएको गाडी र ड्राइभर खोज्न भुलिसकेको थिएँ– राडारको सन्देश नपाएको विमानचालकझैं । 

काठमाडौं छँदै पढ्न जान लागेको ‘कश्मीर अध्ययन संस्थान’का निर्देशकलाई इमेल पठाएको थिएँ, ‘कृपया सक्नुहुन्छ भने विमानस्थलबाट विश्वविद्यालयसम्म पुग्ने सवारीको व्यवस्था गरिदिनुहोस् ।’ उनले सवारी व्यवस्था गरिसकेको जवाफ दिएका थिए । तर विमानस्थलमा न विश्वविद्यालयको सवारी थियो, न त सवारी चालक नै । प्रहरीले मेरा हरेक पाइलामा आँखा तेस्र्याइरहेका थिए । 

आगन्तुकका नाम लेखिएका प्लेकार्ड बोकेर स्वागत गर्न बस्नेबीच हाम्रो नाम थिएन । असमन्जसमा परेको म साथीलाई एउटा कुनामा कुराएर यता उता गरिरहे । ‘क्यूँ इधर उधर कर रहे है ?’ फेरि उही प्रहरीले इसारा गर्दै सोध्यो । सवारी कुरेको रामकहानी सुनाएपछि उसैले हाम्रो ड्राइभर खोजिदियो । हट्टाकट्टा ज्यानधारी ड्राइभर थियो– सलिम । झन्डै ६ फिट इचाइको । उसले एकै हातले मेरो ३० केजीको लगेज उचालेर गाडीमा हाल्यो । ‘आप मुस्लिम है ?’ उसले स्टेयरिङ घुमाउँदै सोध्यो । हामी हिन्दु भएको थाहा पाएपछि उसको मुखाकृति बद्लियो । ‘ठीकै छ’ भन्ने भाव झल्काएर उसले सिसामा लागेको पानी पुछ्दै गाडी अघि बढायो ।                                                  
... 

अनौठो डरसँगै हामी पुग्यौं– कश्मीर विश्वविद्यालयको गेटमा, जहाँ स्वागत र सहयोग गर्न उभिएका थिए– बंगलादेशबाट अङ्ग्रेजी साहित्यमा विद्यावारिधि गर्न आएका खान तोसिव उस्मान । 

नेपालबाट मसँगै आएकी साथीलाई गल्र्स होस्टलमा पुर्‍याएर भाडाको फ्ल्याटमा फर्कियौं । ‘सर सइद गेट’बाट मुस्किलले तीन सय मिटरको दूरीमा रहेको तीनतले घरमा थियो हाम्रो फ्ल्याट । तेस्रो तलाका पाँचवटा कोठामध्ये तीनवटा छुट्ट्याइएको थियो– दक्षिण एसियाली विद्यार्थीका लागि, जसमध्ये एउटामा उस्मान बसिरहेका थिए । अर्कोमा बंगलादेशकै स्नातकोत्तर अध्ययनरत– चिङ चात्वा मार्मा । तेस्रो कोठा मेरा लागि छुट्याइएको थियो, जसमा केही दिनपछि आउने अर्को बंगलादेशीसँग मिलेर बस्नुपर्ने थियो । त्यस रात बंगलादेशी साथीले ल्याएको ‘कश्मीरी बिरयानी’ खाएर सुतें ।

भोलिपल्ट बंगलादेशी साथीहरूसँगै विश्वविद्यालयको ‘कश्मीर अध्ययन संस्थान’तर्फ लागियो, जहाँ अध्ययन गर्नु थियो– आगामी दुई वर्ष । फ्ल्याटबाट बाहिर निस्कँदा रातभर पानी परेर उघ्रेको आकाश सफा देखिन्थ्यो । वरिपरि देखिनेजत्ति डाँडाहरू हिउँले सेताम्मे थिए । चिसो हावाको झोक्काले हान्दा राता भइरहेका थिए सबैका गाला । ‘म तिमीलाई के देखाउँछु हेर,’ चिङले कानमा खुसुक्क भन्यो । अनि औंला विश्वविद्यालयको ‘कम्पाउन्ड वाल’ तर्फ सोझ्यायो, जहाँ काला अक्षरमा लेखिएको थियो, ‘गो इन्डिया गो ब्याक’ । उसले अर्कोतिर औंला सोझ्यायो, त्यहाँ लेखिएको थियो, ‘वेलकम तालिबान’ । मैले जिब्रो टोकें, चिङले भन्यो, ‘यु क्यान फाइन्ड एभ्रिह्वेयर ।’ 

हामी ‘कश्मीर अध्ययन संस्थान’को गेटनजिकै पुग्दा, प्रहरीले चार–पाँचजना लामो दाह्री पालेका युवालाई एउटै फलामे साङ्लाले हात बाँधेर गाडीबाट झार्दै थिए । लाग्थ्यो– प्रहरी मानव हैन, जनावरलाई डोर्‍याउँदै छन् । कहिलेकाहीं भारतीय टेलिभिजन च्यानलमा देखिने यस्तो दृश्य आज आफ्नै आँखाले देखियो । ‘किन यिनीहरूलाई यस्तो गरेको ?’ मैले उस्मानलाई सोधें । ‘यस्ता कुरामा चासो राख्ने हैन, हामी पढ्न आएका अरू जे सुकै होस्,’ उसले रूखो जवाफ दियो । 

गाडीबाट झारेर प्रहरीले ती युवालाई सरासर कानुन विभागतर्फ लिएर गए । बाटोमा उभिएका केही युवा भने नारा लगाउँदै थिए : ‘हम क्या चाहते है ?’ ‘आजादी’ ‘छिन् के लेयेङ्गे’ ‘आजादी’ उस्मानको रूख जवाफले कौतूहल मेटिएन । तर, तत्कालै कसैलाई सोध्ने आँट गरिनँ । केही सातापछि कश्मीरी साथीहरूबाट थाहा भयो– साङ्लाले बाँधेर ल्याइएका युवाहरू आतंककारीको आरोपमा पक्राउ परेका राजनीतिक बन्दी रहेछन् । कानुन संकायमा स्नातक र स्नातकोत्तर अध्ययनरत उनीहरूलाई दिनैपिच्छे गाई वस्तुझैं डोर्‍याएर ल्याउँथे प्रहरीले । कडा पहरामा क्लास लिन दिएर फेरि साङ्लाले दोर्‍याएरै फर्काउँथे । 

...
कानुन संकायबाट मुस्किलले सय सय मिटरको दूरीमा छ– कश्मीर अध्ययन संस्थान । त्यही पढ्नु छ मैले आउने दुई वर्ष । 
संस्थानको गेटभित्र छिर्नेबित्तिकै भेटिन्छन्– दुईवटा काठका चौतारा, जहाँ छहारी दिन्छन्– भीमकाय रूखले । जो हाम्रा गाउँघरको चौतारीमा छहारी दिने वर–पीपलभन्दा ठूला छन् । स्थानीयले नाम दिएका छन्– चिनार । 

कुनै बेला पर्सियन शासक रहेका कश्मीरमा त्यसको साक्षीसमेत हो– चिनार । कसरी ? एक दिन भूगोल विभागका प्राध्यापक महमद सफीलाई सोधें । ‘पर्सियन भाषामा ‘चि’को अर्थ हुन्छ– वाह ! अनि ‘नार’को अर्थ– आगो,’ उनले अर्थाए, ‘जाडो लागेपछि चिनारका पात सुक्दै जान्छन्, तिनको रङ आगाको ज्वाला जस्तै बन्छ, त्यसैले पर्सियन पहिलोपल्ट कश्मीर भित्रँदा जाडोमा आएछन्, तिनले वाह ! आगो... भनेकाले यसको नाम नै चिनार भएको हो ।’

भलै कश्मीरीले चिनार आफ्नै स्थानमा मात्र पाइने दाबी गरुन्– क्यानडाको राष्ट्रिय झन्डा नै चिनारको पात हो । तर, कश्मीरीलाई चिनार अन्यत्र पनि पाइन्छ भनेको मन पर्दैन । तिनले कश्मीरमा मात्र पाइन्छ भने भने ‘होमा हो’ मिलाइदिनुपर्छ । चिनारका चौतारा पार गरेर हामी पुग्यौं, कश्मीर अध्ययन संस्थानकी विदेशी विद्यार्थी सल्लाहकार हुमैरा सौकतको कार्यकक्षमा । 

अलिगढ मुस्लिम विश्वविद्यालयकी ‘गोल्ड मेडलिस्ट’ र समाजशास्त्रमा पीएचडी उनले स्वागतको औपचारिकतापछि सोधिन्, ‘आर यु मुस्लिम ?’ धार्मिक परिचय गौण भएको मुलुकबाट गएकाले होला– कश्मीरीले पाइला–पाइलामा सोध्ने धर्मसम्बन्धी प्रश्नले टाउको दुखाउन थालिसकेको थियो । 

कोही धर्म सोध्नेहरू गैरमुस्लिम हो भन्नेबित्तिकै मुन्टो बटार्थे । कोही ‘हामी दाबत दिन्छौं’ भन्दै मुस्लिम हुन आग्रह गर्थे । सौकतलाई भेटेर हामी पस्यौं–संस्थानका निर्देशक प्राध्यापक गुल वानीको कार्यकक्षमा । धन्न ! तिनले धर्म सोधेनन् । ‘नयाँ ठाउँमा आएका छौं, धर्म–संस्कृति फरक छ, कसैले असहज प्रश्न सोधे बेवास्ता गरिदिनू,’ वानीले स्वागत गर्दै सुझाव दिए ।

...
नोबेल पुरस्कार विजेता भारतीय मूलका अर्थशास्त्री अमत्र्य सेनले एउटा पुस्तक लेखेका छन्, ‘आइडेन्टिटी एन्ड भायलेन्स : द इलुजन अफ डेस्टिनी’ । पुस्तकमा तिनी ‘आइडेन्टिटी’ अर्थात् पहिचानका कुरा गर्छन् । ‘भायलेन्स’ अर्थात् हिंसाको भण्डाफोर गर्छन् । अनि निष्कर्ष निकाल्छन्–‘पहिचानका नाममा हुने हिंसा भनेको लक्ष्यप्रतिको भ्रम हो । भविष्यप्रतिको धोका हो ।’ 
निष्कर्षका पुस्ट्याइँका लागि पुस्तकका पानाहरू दृष्टान्तले भरिएका छन् । ‘समय र स्थान (टाइम एन्ड स्पेस) अनुसार एउटै व्यक्तिको पहिचान परिवर्तन हुन सक्छ,’ सेनको तर्क छ, ‘कुन समय वा स्थानमा व्यक्तिले आफ्ना बहुव्यक्तित्वमध्ये कुनलाई महत्त्व दिन्छ भन्ने कुरा त्यहाँको परिस्थितिले निक्र्योल गर्छ ।’ 

सेनले भनेझैं भारतीय संस्थापनले धर्मकै आधारमा गरेको विभेदले हुन सक्छ– कश्मीरमा धार्मिक पहिचानले महत्त्व राख्छ । तिनका लागि धर्मका अगाडि व्यक्तिका अरू सबै व्यक्तित्व गौण हुन् । कश्मीर पुगेको दोस्रो दिन नै मैले बुझिसकेको थिएँ– यहाँ कसैलाई धर्म सोध्नु हामीले नेपालमा ‘थर’ सोधेजस्तै हो । 

क्लास सुरु भएपछि हरेक साथीको प्रश्न पनि धार्मिक परिचयबाट सुरु हुन्थ्यो अनि हामीलाई ‘भारतीय’ नभन्नु भनेर टुङ्गिन्थ्यो । कश्मीर उपत्यकामा सायदै कोही युवा होला– जसले खुसी–खुसी आफूलाई भारतीय भनोस् । भारतको नाम आउनेबित्तिकै हरेक युवाको मुहारमा एउटा विद्रोही भाव झल्कन्थ्यो । 

अनि लवजमा आक्रोशको आगो सल्कन्थ्यो । म ‘क्षेत्रीय एकीकरण’ बारे पढ्न गएको थिएँ । क्लास सुरु भएपछि थाहा भयो– भूगोलको ज्ञान त शून्य छ । क्लास रुममा एउटा पनि नक्सा थिएन । कहिले दक्षिण एसिया, कहिले मध्यएसिया त कहिले दक्षिणपूर्वी एसियाबारे छलफल हुन्थ्यो । कुन मुलुक कहाँनेर पर्छ ? समस्या भयो । कश्मीर पुगेको एक सातापछि म श्रीनगरको मुख्यबजार लालचोक गएँ । 

नक्सा किन्न पुस्तक पसलमा पुगेर सोधें, ‘विश्वको नक्सा छ ?’ पसलेले सोध्यो, ‘कहाँबाट आएको ?’ नेपालबाट भन्न नपाउँदै प्रश्न तेस्र्यायो, ‘आर यु मुस्लिम ?’ मुस्लिम हैन भन्नेबित्तिकै उत्तर आयो, ‘नक्सा छैन ।’ अरू तीनवटा पसलमा समेत उस्तै वार्तालाप चल्यो । सबैले नक्सा भए–नभएको हेर्दे नहेरी छैन भनेर फर्काइदिए । बल्ल मेरो चेत खुल्यो, ‘यहाँ धर्मले माने राख्छ भाइ ।’
चौथो पसलमा चाहिं आफूलाई मुस्लिम देखाउने कोसिस गरें । ‘सलाम वालेकुम् !’ पसलेले सलाम फर्काएन । 

फेरि परेन फसाद ! ‘नक्सा छ ?’ पसलेले सोध्यो, ‘कहाँबाट आएको ?’ नेपाल भन्न नपाउँदै सोधिहाल्यो, ‘आपका नाम क्या है ?’ ‘विष्णु’ ‘ओ ! आप हिन्दु है ? क्या बात है, आप त हमारा भाइ है बैठिए ।’ ‘आई निड अ म्याप ।’ ‘कोही बात नही मिल जाएगा, बैठिए तो सही ।’ 

मलाई अचम्म लाग्यो । उसले मलाई विश्व र कश्मीर एउटा–एउटा नक्सा दियो । पैसा तिर्न खोज्दा लिनसमेत मानेन । अनि भन्यो, ‘हामी पनि हिन्दु हौं, कश्मीरी पण्डित, अरू सबैले कश्मीर छाडिसके हामीचाहिं छँदैछौं ।’ उसको नाम त मैले सम्झिनँ, तर थर थियो ‘कौल’ । जसरी अरूले धर्म सोधेर नक्सा बेचेनन्, पण्डितले पनि हिन्दु पहिचानप्रति बढी नै आसक्ति देखाए । एकैछिनको गफगाफमा ती कौलले मुसलमान र पाकिस्तानलाई भरमार गाली गर्न भ्याए, जसरी मसँग पढ्ने साथीहरू भारतलाई गाली गर्थे ।
...

लोकतन्त्रमा मतको महत्त्व हुन्छ । हरेक लोकतान्त्रिक मुलुक जनमतको आधारमा चल्छन् । श्रीनगर पुगेकै महिना लोकसभाका लागि निर्वाचन हुँदै थियो । ‘लोकतान्त्रिक मुलुकको संसदीय चुनावका बेला पक्कै रौनक छाउनेछ,’ मनमन सोचें ।

सेताम्मे हिमाल हेरिरहेका मेरा आँखा चुनावी रङरोगन र प्रचार प्रसार हेर्न आतुर थिए । चुनावको मिति नजिकिँदै थियो । चुनाव हेर्ने मेरो आतुरी पनि बढ्दै थियो । तर, चुनाव मुखैमा आउँदा पनि श्रीनगर उस्तै उदास थियो । कतै देखिँदैनथे, चुनावी सभा, न त देखिन्थे ठूल्ठूला ब्यानर र पोस्टर नै । 

लालचोकमा सानो झुन्ड जम्मा पारेर सम्बोधन गर्नेहरू भने थिए । त्यसबाहेक कुनै रौनक थिएन । थियो त केवल स्वतन्त्रता पक्षधरहरूले भित्ता–भित्तामा कोरेका नाराहरू, ‘बाइकट सो कल्ड इलेक्सन, फाइट फर फ्रिडम ।’ चुनावको मिति नजिकिँदै जाँदा स्वतन्त्रता पक्षधर आन्दोलनकारी नजरबन्दमा पर्दै गए । हरेक दिन सहरको मुख्य केन्द्रमा कफ्र्यु लाग्न थाल्यो । सडकमा बसेर सेनाले हरेक सवारी र पैदलयात्रीलाई समेत चेक गर्नु दिनचर्या बन्यो । 
वर्षौंदेखि स्वतन्त्रताका लागि शान्तिपूर्ण आन्दोलनको नेतृत्व गरिरहेका ‘हुर्रियत कन्फरेन्स’, ‘जम्मु–कश्मीर लिवरेसन फ्रन्ट’ जस्ता संगठनका नेतालाई कसैलाई भेट्न नमिल्ने गरी नजरबन्दमा राखियो । चुनाव आउने साता दिनअघि नै विश्वविद्यालयमा पठनपाठन बन्द भयो ।

विश्वविद्यालय प्रशासनले होस्टलमा बस्ने सबै स्थानीय विद्यार्थीलाई घर फिर्ता पठायो । फ्रिडम हाउसको तथ्याङ्कअनुसार ६ सयभन्दा बढी युवालाई बिनाआरोप पक्राउ गरेर जेल हालियो । म नजिकबाट नियाल्दै थिएँ– विश्वकै सबैभन्दा लोकतान्त्रिक मुलुकको संसदीय चुनाव । जहाँ, लोकतान्त्रिकभन्दा अलोकतान्त्रिक गतिविधि धेरै हुँदै थिए । चुनाव हुने दिन स्थानीय प्रशासनले अघोषित कफ्र्यु लगायो । सर्वसाधारणहरू कफ्र्युको डरले बाहिर निस्कने अवस्था थिएन । 

तैपनि चुनाव भयो अनि केही दिनपछि परिणाम घोषणा । सरकारी तथ्याङ्कअनुसार श्रीनगरमा २५ दशमलव ६२ प्रतिशत मत खस्यो, जुन तथ्याङ्कप्रति न कश्मीरी सर्वसाधारणको विश्वास छ, न त मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संघसंस्थालाई । हिन्दु बहुल जम्मुको समेत मत जोड्दा पनि राज्यमा ४० प्रतिशतभन्दा कम मत खस्यो ।
... 
चुनाव सकियो । कश्मीर सामान्य जीवनमा फर्कियो । सामान्यको अर्थ पनि समय, काल, परिस्थितिअनुसार फरक हुने रहेछ । ‘कफ्र्यु’, ढुंगा हानाहान र ‘इन्काउन्टर’ अन्यन्त्र असामान्य हो, कश्मीरका लागि सामान्य । ‘ब्यारेक’ भित्रको सेना, सेना–प्रहरीविहीन विश्वविद्यालय अन्यत्रका लागि सामान्य हो, कश्मीरका लागि असामान्य । 

‘आम्र्ड फोर्स स्पेसल एक्ट (आफ्सा)’ अन्तर्गत सेनालाई दिइएको असीमित अधिकार अन्यत्रका लागि असामान्य मात्र होइन, असम्भव हो । सेनाले यही कानुन दुरुपयोग गर्दै जोसुकैलाई हतियार भिडाएर आतंककारी भन्दै समात्न/बेपत्ता पार्न सक्छ । 
भारतीय लेखक अरुन्धती रोयका शब्दमा, ‘आसफा सेनालाई बलात्कार गर्न दिइएको लाइसेन्स हो ।’ डकुमेन्ट्री निर्माता कश्मीरी पण्डित सञ्जय काकका अनुसार, ‘आसफा सेनालाई मानवअधिकार हनन गर्न दिइएको अनुमति हो ।’ राष्ट्रिय–अन्तर्राष्ट्रिय विरोधका बाबजुद कश्मीरमा ‘आसफा’ जारी छ । यस्तै कानुन भारतका उत्तरपूर्वी राज्यहरूमा पनि लगाइएको छ । 
त्यसकै विरोधमा डेढ दशकदेखि मणिपुरकी ‘इरोम शर्मिला’ भोक हड्तालमा छिन् । हिसाब गर्ने हो भने, कश्मीरमा खटाइएका एक सैनिक बराबर सात सर्वसाधारण पर्छन् । ‘धर्तीको स्वर्ग’ उपमा पाएको कश्मीरमा अप्सरा नाच्दैनन् । अत्याधुनिक हतियार लिएरका सेनाले परेड खेल्छन् । 
सामान्य नागरिकले बाटो हिँड्दा पनि सयौं अवरोध झेल्नुपर्छ । ‘आसफा’का आडमा बेपत्ता बनाइएकाहरूको संख्या सयबाट हजार र हजारबाट दस हजार उक्लँदै छ । ‘अर्ध–विधवा’को उपाधि पाएका तिनका पत्नीहरूले न्याय पाउने कुरा परै जाओस्, आवाज सुनिदिनेसमेत कोही पाएका छैनन् ।
...

कश्मीरमा द्वन्द्वको बीउ रोपिएको हो– भारत स्वतन्त्र संग्रामकै बेला । कहिले यो परालको आगो बनेर हुरुरु बल्छ त कहिले भुसको आगोझैं सल्कन्छ । तर, सधैंका लागि निभ्न सकेको छैन । 

मुस्लिम बहुल जम्मु–कश्मीर बेलायती संसद्बाट भारत र पाकिस्तान स्वतन्त्र हुने विधेयक पारित हुँदै गर्दा ‘प्रिन्स्ली स्टेट’ थियो, जसले बेलायतलाई सीमित रकम बुझाएर आफैं शासन गर्न पाउँथ्यो । स्वतन्त्रता संग्रामताका भारतमा यस्ता पाँच सयभन्दा बढी राज्यहरू थिए । तिनलाई विकल्प दिइयो– भारत अथवा पाकिस्तानमा गाभिने वा स्वतन्त्र राज्यकै रूपमा बस्ने । कश्मीरी सम्राट हरि सिंहले स्वतन्त्र बस्ने निर्णय गरे । तर, भू–स्वर्ग कश्मीरलाई आफ्नो पोल्टामा पार्न चाहन्थे भारत र पाकिस्तान दुवै । 

पाकिस्तानबाट आएका ‘कबाली’को समूहले कश्मीरमा हमला गर्‍यो । सिंहले बाध्य भएर भारतसँग सेना पठाइदिन आग्रह गरे । भारतले आफूमा समाहित भए मात्र सेना पठाउने सर्त राख्यो । भारतीय सेना श्रीनगरमा पुग्दा झन्डै आधा भूभाग पाकिस्तानले कब्जा गरिसकेको थियो । यही विषयलाई लिएर स्वतन्त्रतालगत्तै भारत र पाकिस्तानको युद्ध भयो । त्यसपछि पनि दुई ठूला युद्ध भइसके । तर, कश्मीरको विवाद मिल्न सकेको छैन । 

भारत–पाकिस्तानको चेपुवामा परेका आम कश्मीरी भने ७० वर्षअघिजस्तै स्वतन्त्र रहन चाहन्छन् । त्यसैका लागि हतियार बोक्ने समूह दर्जनौं छन् । सन् १९९० देखि झन्डै १० वर्ष चलेको सशस्त्र आन्दोलनमा ज्यान गुमाउनेको संख्या लाख नाघेको विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूको तथ्याङ्क छ । 

सरकारी आँकडामा भने यो संख्या ४५ हजारको हाराहारीमा झर्छ । कश्मीरको इतिहास लेख्नेहरूका आ–आफ्नै चस्मा छन् । कसैले भारतलाई महान् बनाउँछन् त कसैले पाकिस्तानलाई । बेलायती साम्राज्यको गाथा र कश्मीरको गाथा लेख्नेहरू पनि छँदैछन् । यिनै चारको गाथा गाउनेहरूबीच चेपिएका छन्–कश्मीरी जनता । राजनेतादेखि इतिहासकारसम्मबाट ‘म्यानुपुलेट’ गरिएका कश्मीरीहरू आफैंमा विभक्त छन् । 

दिग्भ्रमित छन् । जहाँका हिन्दुहरू भारतलाई मन पराउँछन्, मुस्लिम पाकिस्तानलाई । कश्मीरी जनतालाई सन् १९४८ देखि संयुक्त राष्ट्रसंघमा पुगेर अड्किएको जनमतसंग्रहको अवसर दिन न भारत तयार छ, न पाकिस्तान । दक्षिण एसियाका यी दुई प्रतिद्वन्द्वीले स्वार्थको चस्मा लगाउँदा कश्मीरका जनताभन्दा भूगोल मात्र देखिरहेका छन् । जनता र तिनको दु:ख देख्न यिनले स्वार्थका चस्मा फुकालेर खुला आँखाले हेर्न आवश्यक छ, जो सात दशकदेखि सम्भव भइरहेको छैन ।

कान्तिपुर दैनिककाे काेशेलीमा २०७३ असार १८ गते प्रकाशित ।











Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु