Skip to main content

साउदी संकटले नेपाली अर्थतन्त्रमा असर पर्ने

खाडी मुलुक साउदी अरेबियामा कच्चा तेलको भाउ घटेर आर्थिक संकट भएपछि त्यसको असर नेपाली अर्थतन्त्रमा समेत पर्ने भएको छ ।
साउदीमा कार्यरत नेपाली कामदारले रोजगारी गुमाउँदा यहाँको विप्रेषण (रेमिट्यान्स) आयमा असर पर्ने भएको हो । त्यहाँका कम्पनीहरूले हाल ठूलो मात्रामा विदेशी कामदार कटौती गरिरहेका छन् ।
पूर्वाधार लगायतका आयोजनाको काम ठप्प हुँदा नेपालीसँगै भारतीय, पाकिस्तानी, बंगालादेशी, फिलिपिनोलगायत कामदार कटौतीमा पर्न थालेका छन् । नेपालको विप्रेषण आयमा साउदी अरेबिया दोस्रो ठूलो योगदानकर्ता हो । त्यहाँ कार्यरत नेपालीले रोजगारी गुमाउने क्रम बढ्दै गएकाले यसको असर प्रत्यक्ष रूपमा अर्थतन्त्रमा पर्न सक्ने छ । अर्थशास्त्रीहरूका अनुसार कामदार कटौतीले नेपालको रेमिट्यान्स आयमा कमी आउने छ । यसले विदेशी मुद्रा सञ्चितिलाई घटाउने छ भने नेपाली कामदारको माग कम हुँदा बेरोजगारको संख्या वृद्धि हुन सक्ने छ ।
हाल साउदीमा औपचारिक र अनौपचारिक रूपमा करिब ५ लाख नेपाली कामदार रहेको अनुमान छ । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर गत आर्थिक वर्षमा मात्र १ लाख ३८ हजार नेपाली रोजगारीका लागि साउदी गए ।
‘हाम्रो अर्थतन्त्र रेमिट्यान्सकै भरमा चलेको छ, रेमिट्यान्समा महत्त्वपूर्ण योगदान गर्ने मुलुकमै आर्थिक संकट भएपछि त्यसको असर हामीलाई नै बढी पर्छ,’ अर्थशास्त्री चन्द्रमणि अधिकारीले भने, ‘यसले आर्थिक मात्र होइन सामाजिक समस्यासमेत निम्त्याउने निश्चित छ ।’
विश्व बैंकका अनुसार नेपालको रेमिट्यान्स आयमा साउदी अरेबियाको योगदान साढे २६ प्रतिशत छ । सन् २०१५ मा नेपाली आप्रवासी कामदारले पठाएको रकमका आधारमा बैंकले तयार पारेको प्रतिवेदनअनुसार साउदी अरेबियाबाट त्यस वर्ष करिब १ खर्ब ८५ अर्ब ३० करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो ।

नेपाल राष्ट्र बैंक राष्ट्र ऋण व्यवस्थापन विभाग प्रमुख मीनबहादुर श्रेष्ठका अनुसार साउदी अरेबियाको समस्याले नेपालमा औपचारिक माध्यमबाट आउने रेमिट्यान्ट घट्ने/नघट्ने अहिले नै आकलन गर्न सकिँदैन । ‘गत वर्षको तथ्यांक हेर्दा औपचारिक माध्यमबाट आउने रेमिट्यान्सको वृद्धिदरमा कमी आउँदै गरेको छ,’ उनले भने, ‘त्यसको एउटा कारण अनौपचारिक माध्यमबाट आउने रेमिट्यान्स बढेको हो, त्यसैले अहिले नै औपचारिक माध्यमबाट आउने घटिहाल्छ भन्न सकिँदैन ।’
उनले औपचारिक माध्यमबाट आउने रेमिट्यान्समा कमी नआएपछि कामदार कटौती भएपछि नेपालमा भित्रने रकममा कमी आउने र बेरोजगारको संख्या बढ्न सक्ने बताए । ‘अनौपचारिक माध्यमबाट आउने रकम पुग्ने परिवारमा हो,’ उनले भने, ‘त्यसले जीवनस्तर उकास्न मद्दत गरेको छ, कामदार धेरै कतौटी हुँदा यसमा असर गर्छ ।’
विश्वव्यापी रूपमा कच्चा तेलको माग कमी हुनु, युरोपेली संघबाट बेलायत बाहिरिनु, सिरियालगायत मुलुकमा राजनीतिक संकट उत्पन्न हुनु, रसियासँग अमेरिका र युरोपेली मुलुकको सम्बन्ध बिग्रनु लगायतका कारणले हाल तेलको मूल्यमा गिरावट आइरहेको छ ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार विश्वकै सबैभन्दा धेरै ऊर्जा खपतकर्ता चीनमा समेत यस वर्षको पहिलो ६ महिनामा हालसम्मकै सबैभन्दा कम कच्चा तेल आयात भएको छ । चीनको निर्यात र आयातमा समेत अघिल्लो महिना कमी आएको छ भने औद्योगिक उत्पादनको गतिसमेत कम भएको छ । चीनजस्ता मुलुकले कच्चा तेलको खपत घटाउँदा त्यसको असर मूल्यमा परेको ऊर्जा विशेषज्ञहरूले दाबी गर्दै आएका छन् ।
अन्तार्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का अनुसार सन् २०१५ मा कच्चा तेलको मूल्यमा ४० प्रतिशतले गिरावट आएको थियो । यो गिरावट सन् २०१६ को पहिलो ६ महिनामा समेत जारी छ । तेलको मूल्यमा यो वर्षपछि पनि गिरावट जारी रहने एजेन्सीको अनुमान छ । साउदी अरेबिया विश्वमै दोस्रो ठूलो तेल उत्पादक हो । त्यहाँको अर्थतन्त्र तेल निर्यातको कमाइबाटै चल्ने गर्छ ।
तेलको आयमा कमी आएपछि साउदी अरेबियामा हाल ठूला पूर्वाधारका काम रोकिएका छन् । जसले गर्दा धेरै नेपालीले पूर्वाधार क्षेत्रबाट रोजगारी गुमाएका छन् । त्यहाँ नेपाली महिला भने घरेलु कामदारका रूपमा जाने गर्छन् तर अधिकांश पुरुष निर्माण क्षेत्रमा कार्यरत छन् ।
विश्व बैंकले तीन महिनाअघि सार्वजनिक गरेको ‘नेपाल विकास प्रतिवेदन’ ले पनि रेमिट्यान्स आयमा कमी आएर नेपालको अर्थतन्त्र धरापमा पर्न सक्ने प्रक्षेपण गरेको थियो । ‘नेपालको अर्थतन्त्र रेमिट्यान्समा निर्भर छ, यसमा कमी आउने सम्भावना देखिएकाले त्यसले अर्थतन्त्रको गतिलाई सीमित गर्ने देखिन्छ,’ प्रतिवेदनमा छ, ‘विश्वभर नै तेलको मूल्यमा आएको कमीले सन् २०१५ मा सन् २००८ पछि पहिलो पटक रेमिट्यान्स पठाउने मुलुकको आयमा कमी आएको छ ।’
६६ जना सम्पर्कमा
आर्थिक समस्यामा परेको साउदी ओजेर कम्पनीमा कार्यरत ६६ नेपालीले तलब नपाएपछि रियादस्थित नेपाली दूतावास र जेड्डास्थित नेपाली महावाणिज्य दूतावासको सम्पर्कमा आएका छन् । लामो समय तलब नपाएपछि उनीहरू दूतावासको सम्पर्कमा आएका हुन् ।
परराष्ट्र मन्त्रालय पश्चिम एसिया महाशाखा प्रमुख दीपक अधिकारीका अनुसार जेड्डामा ४१ र रियादमा २५ नेपाली कामदार सम्पर्कमा आएका हुन् । उनीहरूमध्ये घर फर्कन चाहनेलाई फर्कने व्यवस्था मिलाइएको अधिकारीले जानकारी दिए । यसैगरी नयाँ कम्पनीमा काम गर्न चाहनेका लागि साउदी अरेबियाको श्रम विभाग सँगको समन्वयमा काम गर्ने वातावरणसमेत मिलाइएको उनले बताए ।
‘हालसम्म तेलको मूल्यका कारण समस्या भएको भन्ने जानकारी हामीलाई आएको छैन,’ उनले भने, ‘नेपाली कामदारले यस्तो समस्या पहिले पनि भोग्दै आएकाले संयोग परेको पनि हुन सक्छ ।’ अधिकारीका अनुसार सम्पर्कमा आएका नेपाली कामदारलाई दूतावासले खाने बस्ने व्यवस्थाका लागि रकमसमेत दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि सोमबार साउदीमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्था गर्न निर्देशन दिएका थिए ।

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु