०००
सत्ता र त्यसका मठाधीशप्रति वर्षौँदेखि नागरिक तहमा गुम्सिएको आक्रोश यो पटक नवपुस्ताको अगुवाइमा अभिव्यक्त भयो। त्यो स्वतःस्फूर्त थियो। स्वचालित थियो। त्यसको कथा वा पटकथा कसैले लेखिदिएको थिएन। नेतृत्व थियो न त्यसलाई अवतरण गराउने खाका र तयारी। त्यो एउटा आँधी थियो, हुरी थियो, भूकम्प थियो। देशका सबै नदीमा आएको थाम्नै नसकिने बाढी थियो।
स्वतःस्फूर्त र नेतृत्वविहीन आन्दोलन परम्परागत दलले गर्ने जस्तो सङ्गठित हुँदैन। आन्दोलनकारीमा दलीय अनुशासन हुँदैन। लक्ष्य र उद्देश्यहरू स्पष्ट नहुन सक्छन्। उपलब्धिलाई संस्थागत गर्ने मार्ग प्रस्ट नहुन सक्छ। त्यो थाहा पाउन इन्टरनेट र सामाजिक सञ्जालको व्यापक उपयोगबाट आह्वान भएका पछिल्ला आन्दोलन र अभियान हेरे पुग्छ। विगत दुई दशकभित्र संसारभरि भएका कैयौँ आन्दोलनको विश्लेषण गर्दा हुन्छ। चाहे ती अमेरिकाका ‘टी पार्टी मुभमेन्ट’, ‘अक्युपाई वालस्ट्रिट’ हुन् वा अरब वसन्त, हङ्कङको छाता आन्दोलन अनि विभिन्न देशमा चलेको पछिल्लो ‘नेपोबेबी’ वा ‘नेपोकिड्स’ अभियान, ती सबैको नतिजा लगभग उस्तै देखिन पुग्यो।
युवापुस्तालाई ‘भर्चुअल बहस’देखि सडकसम्म ल्याउन सफल अधिकांश ती आन्दोलन उपलब्धिलाई संस्थागत गर्न असफल भए। कतिपय अभियानलाई बीचैमा तुहाइयो। केहीले सीमित परिवर्तन ल्याए, त्यसलाई कायम राख्न सकेनन्। यद्यपि, यी अभियानहरू आन्दोलन मात्र होइनन्, क्रान्ति मात्र पनि होइनन् नवपुनर्जागरणतर्फको यात्राका सङ्केत हुन्।
लामो समयदेखि यो वा त्यो तन्त्रको नाममा दलीय वा एकलीय मिलोमतोतन्त्र चलाउनेहरू, राजनीतिज्ञ-कर्मचारी र तथाकथित व्यापारीको गठबन्धनबाट अधिकांशलाई गरिब बनाएर सीमित व्यक्तिलाई धनी बनाउने वर्ण शङ्कर अर्थतन्त्र विकास गर्नेहरू, कथित लोकतन्त्र, समानता, अधिकार, समृद्धि र समावेशी समाजका नाममा घुमाइफिराइ वैदेशिक अर्थ र अवसरमा आफू मात्र रजाइँ गर्ने सीमित घरानाका छद्म विद्वानहरूका कारण अहिलेको अवस्था आएको हो।
नवपुनर्जागरणतर्फको सङ्केत मात्रले यी तीनै थरी हालीमुहालीकर्ता बेचैन बनेर बरबराउन थालेका छन्। उनीहरूको बरबराहटमा यस्ता विषयहरू निस्किएका छन्, जुन उनीहरूतर्फ सोझिनु पर्ने थियो, तर उनीहरू यो अभियानका नवपुस्तातर्फ नै औँला सोझ्याइरहेका छन्। त्यसको एउटा उदाहरण हो- राणाकालपछि नेपालको इतिहासमा पहिलो पटक आफ्नै भूमिभित्रबाट उब्जिएको नवपुस्ताको आन्दोलनलाई विदेशबाट परिचालित करार गर्ने प्रयास।
आजका दिनमा ज-जसले नवपुस्ताको आन्दोलनलाई विदेशबाट परिचालित देखिरहेका छन्- उनीहरूको नजर र नियत दुवै ठिक छैनन्। नवयुवाको नवपुनर्जागरणलाई विदेशीबाट परिचालित भन्दै कलङ्कित गर्न खोज्नेमा तिनै कांग्रेस, एमाले र माओवादीका कार्यकर्ता वा शुभचिन्तकहरू छन्। ननिदाई निद्राको स्वाङ गर्नेहरूलाई आफ्नै ‘बा,’ ‘दाइ,’ ‘भाउजू’ र ‘कमरेड’हरूको जुन इतिहासप्रति गौरव छ, तिनले देख्ने भनेको षड्यन्त्रका सिद्धान्त हुन्। तिनले दाम, दाम, दण्ड, भेद अपनाएर गर्ने भनेकै षड्यन्त्र हुन्।
नवपुस्ताको नवपुनर्जागरणलाई विदेशीको इसारामा गरिएको कर्म देख्ने कांग्रेसीहरूले के बुझुन् भने तिनको दलको गर्भधारण, जन्म र पालनपोषण विदेशी भूमिमा भएको थियो। तिनले महान् मान्ने बिपी कोइरालासहित तिनका संस्थापक नेताले भारतीय भूमिमा बसेर भारतको स्वतन्त्रताका लागि लडेका थिए। तिनै बिपीको सिफारिसमा विदेशी नागरिकलाई नेपालको इतिहासमा पहिलो प्रधानन्यायाधीश बनाइएको थियो। त्यही कांग्रेसका एक संस्थापक मातृकाप्रसाद कोइरालाको सरकारले नेपालमा भारतीय सेना बोलाएर राखेको थियो। त्यसलाई फिर्ता पठाउन झन्डै दुई दशक लागेको थियो। तिनै कांग्रेसीहरूको सिफारिसमा विदेशी नागरिक राजाको सचिव बनेको थियो अनि भारतीय राजदूत मन्त्रिपरिषद् बैठकमा बस्ने अवस्था भएको थियो। विदेशीले बनाइदिएको पार्टीमा लागेकाहरूले अहिलेको आफ्नै माटोमा उदय भएको क्रान्तिलाई किन विदेशीको इसारामा नाचेको नदेखुन्? जसले अर्काको सहारामा जन्मदेखि अहिलेसम्म हिँड्नु परेको छ, तिनले अरूलाई पनि त्यस्तै देख्नु कुन अनौठो विषय भयो र?
नेपाली इतिहासको सबैभन्दा ठूलो कलङ्क बोकेर प्रधानमन्त्री पदबाट बिदा भएका केपी शर्मा ओली र उनका ‘रैती’हरूको दल नेकपा एमालेको माऊ पार्टीको उत्पत्ति विदेशी भूमिमा मात्र भएको थिएन, त्यसका संस्थापकहरूमा विदेशी पनि थिए। विसं २००६ मा भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टी स्थापना हुँदा त्यसका एक जना संस्थापक अयोध्या सिंह थिए भन्ने एमालेजन कमैलाई थाहा होला। पार्टीको पोलिटब्युरो सदस्य रहेका तिनै भारतीय नागरिकको प्रशिक्षणबाट पुष्पलालहरू कम्युनिस्ट बनेका थिए। जुन दलको स्थापना विदेशमा भयो र त्यसका संस्थापकमा विदेशी नागरिक पनि थिए तिनै दलका आसेपासेले आज नवपुस्तालाई विदेशी इसारामा नाचेको आरोप लगाउँदै छन्।
एमालेजनलाई म प्रश्न गर्न चाहन्छु- महाकाली सन्धिमा तिम्रा ‘बा’ केपी ओलीको भूमिका के थियो? भूकम्पपछिको नाकाबन्दी र त्यसपछिको उनको भारत भ्रमणमा ओलीले नेपाललाई कसरी ‘पेट्रोलियम पदार्थ’मा भारतमा मात्र निर्भर हुनुपर्ने अवस्थाबाट बिजुलीमा पनि नेपाल भारतमा मात्र निर्भर हुनुपर्ने अवस्थामा पुर्याए? अनि नागरिक दशैँ बिदामा रमाइरहेका बेला मध्यरातमा विदेशी खुफिया एजेन्सीको प्रमुखलाई बालुवाटारमा एक्लै भेट्ने तिम्रा ‘बा’ को नियत के थियो?
अहिलेको नवजागरणलाई वैदेशिक हस्तक्षेपका रूपमा देख्ने सत्र हजार मानिस मारिने अवस्था उत्पन्न गराउने मुख्य पात्र पुष्पकमल दाहाल र उनका कार्यकर्ताहरूलाई भन्नुपर्ने कुनै विषय बाँकी छैनन्। माओवादीको कथित जनयुद्ध कसरी सुरु भयो र त्यसमा विदेशी गुप्तचर निकायको भूमिका के थियो? कैयौँ पुस्तकमार्फत सार्वजनिक भइसकेको छ। दाहाल आफैँले सार्वजनिक रूपमा त्यसलाई स्वीकारेका छन्। क्रान्तिका नाममा जनताका छोराछोरीलाई युद्धमा झोसेर आफूले कसरी दिल्ली दरबारको स्वागत खाइरहेका थिए भन्ने पनि खुलिसकेको छ। न हिजो उनी नेपाली जनताका थिए न पछिल्लो कार्यकालको प्रधानमन्त्री बन्दासम्म। पुष्पकमल दाहाल आफैँमा एक कठपुतली हुन् र तिनलाई दक्षिणले कसरी नचाउँछ अब सबै जनताले बुझिसकेका छन्।
नवजागरणलाई वैदेशिक उक्साहट देख्ने राजावादी, दुर्गा प्रसाईँवादी, नागरिक समाज नामको दलहरूको पुच्छर अर्को जमात छ। राजावादीका निम्ति यत्ति भन्छु- जसले हिन्दू राष्ट्र र राजसंस्थाका लागि पहल गरिदिनु पर्यो भन्दै विदेशी भूमिमा गएर निवेदन हालेका छन् ती कसरी राष्ट्रवादी भए? तिनको नियत कतै ‘अखण्ड भारत’वादीको जस्तै त होइन?
दुर्गा प्रसाईवादीले के बुझ्न जरुरी छ भने तीनकुने घटनापछि जुन व्यक्ति भागेर अर्काको देशमा लुक्न पुग्यो त्यो जस्तो अराष्ट्रिय र कायर व्यक्ति कोही हुन सक्दैन। आज पनि कसैले देशमा आगो झोसेर अर्काको देशमा लुक्न पुग्नेलाई राष्ट्रवादी मान्छ र आफूबाहेक सबैलाई विदेशीको इसारामा नाचेको भन्छ भने त्यसैको नियतमा शङ्का गर्नु पर्ने हुन्छ।
नवपुस्ताको जागृति र विद्रोहलाई विदेशी करार गर्ने अभियानमा दलका आसेपासेसँगै काँधमा काँध मिलाएर हिँडिरहेको जमात छ- कथित नागरिक समाज नामको छद्म विद्वानहरूको समूह। जसका पिता/पुर्खाले राणाकालदेखि चाकरी गरेर आफ्नो दुनो सोझ्याए, पञ्चायत कालमा राजाको गुणगान गाउँदै रजाँइ गरे, पछिल्लो तीन दशकमा नेपालको गरिबी, द्वन्द्व र पछौटेपन देखाएर विदेशीको हितका लागि उनीहरूकै सर्तमा सबैभन्दा धेरै रकम आफ्नो घरमा भित्र्याए। आज तिनैले नवयुवालाई विदेशीका दलाल देख्दै छन्।
तिनले गरेको संरचनागत हिंसाको फेहरिस्त लामै छ। नवपुस्ताले राजनीति गर्नेहरूका मात्र कर्तुत प्रत्यक्ष देखेका र भोगेका हुनाले यसपालि सायद ती बच्न पुगे। कुनै दिन पक्कै तिनीहरूबारे पनि आमजनमा जागरण आउने छ। देशमा उनीहरूले यस्तो भाष्य खडा गर्छन् कि सबै तिनीहरूकै पछि लाग्छन्। ती भाष्यका उनीहरू मुख्य लाभकर्ता हुन्। अहिले पनि उनीहरू आफ्नै भाष्य निर्माणमा लागेका छन्। त्यसलाई स्थापित गरेर फेरि विदेशी पैसा ल्याउँछन् र आफू अनि आफ्ना आसेपासेमा बाँड्छन्। विदेशीका वास्तविक ‘दलाल’ तिनीहरू हुन् तर उनीहरू नै अहिले नवपुस्तालाई विदेशीका ‘एजेन्ट’ करार गर्न लागिपरेका छन्।
विदेशी भूमिमा विदेशीले बनाइदिएको दल र विदेशीले दिएको हतियारबाट सुरु भएको सात सालको क्रान्ति र त्यसपछिको दिल्ली सम्झौता वैदेशिक हस्तक्षेप थियो कि थिएन? कांग्रेसीहरूलाई यो प्रश्न औचित्यहीन लाग्छ, उनीहरूका निम्ति त्यो वैदेशिक हस्तक्षेप थिएन, नेहरू-राजेन्द्रप्रसादहरूको सद्भाव थियो।
विदेशी भूमिमा विदेशी नागरिकलाई समेत राखेर बनाइएको पोलिटब्युरोबाट जन्मिएको नेपाल कम्युनिस्ट पार्टी र त्यसैका खेमाहरू कांग्रेससँग मिलेर २०४६ सालमा भारतलाई नाकाबन्दी लगाउन मद्दत गरेर ल्याइएको कथित प्रजातन्त्र नामको लुटतन्त्र वैदेशिक हस्तक्षेप थियो कि थिएन?
विदेशी खुफिया निकायको तालिम, भरण पोषण र पालनमा हुर्किएको माओवादीसँग कांग्रेस र एमालेसहित दलहरूले विदेशी भूमिमा गरेको कथित १२ बुँदे सहमति र त्यसैको बलमा ल्याइएको कथित गणतन्त्रलाई कुन चस्माले हेरेर वैदेशिक हस्तक्षेपविनाको भन्न सकिन्छ?
आजसम्म सत्तामा रहेका वा नरहेका राजनीतिक दल नामका पारिवारिक कम्पनी र तिनका मूलीहरूले यी तथ्यलाई वैदेशिक हस्तक्षेप मान्दैनन् तर आफ्नै देशभित्रका युवाहरूले असङ्गठित रूपमा गरेको विद्रोहलाई वैदेशिक हस्तक्षेप देख्छन्। यो उनीहरूको स्वार्थप्रेरित समाजलाई दिग्भ्रमित पार्ने प्रयत्न मात्र हो। सत्ताको श्रीपेच खसेपछि हरेक शासकले फैलाउने भनेको षड्यन्त्रका सिद्धान्तका मनगणन्ते कहानी हुन्, जसरी ओलीले प्रहरीसँग नभएको हतियार चलाइएको भन्दै आफू ओभानो बन्न खोजिरहेका छन्।
मुख्यतः नेपाली समाजका तीन प्रवृत्ति र तिनका पात्रहरू- मिलेमतोतन्त्रवादी, रजानीति-कर्मचारीतन्त्र-व्यापारी गठबन्धनधारी अनि विदेशीको सेवामा तल्लीन छद्म विद्वान्हरूलाई नवपुस्ताले समयमै चिन्न जरुरी छ। उनीहरूलाई पुनः सत्ताको केन्द्रमा पुगेर नागरिकघात गर्नबाट रोक्ने मात्र होइन, यसअघि उनीहरूले गरेका अपराधका निम्ति सजायको भागी पनि बनाउनु पर्छ। यदि यसपल्ट पनि जनताको रगत र पसिनामा रजाइँ गर्ने यी तीन प्रवृत्तिका पालकहरू यसै छुटे भने केही वर्षमा फेरि अर्को पुस्ता सडकमा आउनु पर्ने अवस्था हुन्छ। नवपुस्ताले यी तथ्यलाई मनन गरी नवजागरणसँगै नवनिर्माणको बाटो तय गर्नु पर्छ।
क्रमश:
Comments
Post a Comment