Skip to main content

ईयूबाट बाहिरनुमा बेलायती मनोभाव

नवउदारवादी प्रधानमन्त्री मार्गरेट थ्याचरलाई ‘आइरन लेडी’को उपमा दिने रसियाली पत्रकार क्याप्टिन युरी गाभ्रिलोभले एकपटकको अन्तर्वार्तामा सोधेकी थिइन्, ‘तपाई किन बेलायतीलाई अरुभन्दा उत्कृष्ट मानवको संज्ञा दिनुहुन्छ ? कुनै देशको मान्छे महामानव र अर्को देशको मान्छे मानव मात्र हुनसक्छ ?’ युरीको प्रश्नमा थ्याचरले उत्तर फर्काइन्– ‘हो हामी विश्वकै उत्कृष्ट मानव हौं, कस्ले भन्नसक्छ बेलायतीहरु महामानव हैनन् भनेर ? विश्वमा कसैसँग युद्ध नहारेको मुलुक कुनै छ भने त्यो बेलायत हो । तपाई जर्मनलाई वा फ्रेन्चलाई महामानव भन्न सक्नुहुन्छ ? सक्नुहुन्न, किनकी उनीहरुले बेहोरेको हार सबैलाई थाहा छ ।’ थ्याचरको यो अभिव्यक्तिले बेलायतीको ‘सुपर हुमन साइकी’लाई प्रतिनिधित्व गर्छ ।
तिनै थ्याचर बारेको अर्को स्मृति भारतीय लेखक एवं पत्रकार कुललिप नायरले गत वर्षको साउनमा भारत प्रशासित कस्मिरको राजधानी श्रीनगरमा आयोजित ‘मिडिया समिट’मा सुनाएका थिए । सन् १९९० ताका उनी बेलायतमा भारतीय उच्च आयुक्त थिए । सोभियत संघको विघटनलगत्तै एक कार्यक्रममा थ्याचरसँग नायरको भेट भयो । नायरले थ्याच्चरलाई सोभियत संघ विघटन गराउन सफल भएकोमा बधाई दिए । ‘अहिले आधा मात्र बधाई दिनुहोस् महामहिम, कम्युनिष्ट शासन त ढल्यो अझै लोकतन्त्रका लागि अर्को खतरा टरेको छैन,’ अनौपचारिक भेटमा थ्याचरले नायरलाई भनिन् । नायरले लोकतन्त्रका लागि अर्को खतरा के हो ? भनेर सोध्दा थ्याचरले जवाफ फर्काइछिन्– ‘मुस्लिम्स् आर अनदर इनेमी अफ डेमोक्रेसी ।’
थ्याचरका यी दुई अभिव्यक्तिले बहुसंख्यक बेलायतीको प्रतिनिधित्व गर्दोरहेछ भन्ने गत विहिबार भएको जनमत संग्रहको नतिजाले समेत देखाएको छ । जुन युरोपेली संघ (इयू) सँगको संघर्षका क्रममा बेलायती नेताले पटक–पटक अभिव्यक्त गर्दै आएका पनि हुन् । जसरी थ्याचरले आफुहरु महामानव भएको भन्थिन्– बहुसंख्यक बेलायतीलाई पनि त्यही महामानव मनोविज्ञानले ब्रसेल्सका आग्रहहरु ‘आदेश’ लाग्न थाले । त्यसलाई बेलायत इयूबाट बाहिरिनुपर्छ भन्ने नेताहरुले निक्कै उचाले । केही दिनअघि मात्र चुनावी प्रचार अभियानको क्रममा बाहिरिने पक्षधर नेताहरुले इयूलाई नेपोलियन र हिटलरको पुन:उदयकोरुपमा समेत व्याख्या गरे । उग्रराष्ट्रवादी धारको नेतृत्व गर्दै यो समूहले बेलायतीहरु संसारकै उत्कृष्ट  मानव हुन्, तिनकाका लागि ब्रसेल्सको आदेश अमान्य छ, भन्ने सन्देर दिए । त्यसलाई पछ्याउदै त्यहाको पौढ पुस्ताले पनि तिनको अभियानलाई लालमोहर लगाइदिए ।

नायरसँगको बातचित सही भएमा थ्याचरले त एउटा धार्मिक समुदायप्रति त्यत्तिधेरै असहिष्णुता देखाउन सक्छिन् भने सामान्य वेलायतीले नदेखाउने कुरै भएन । सिरिया संकटपछि युरोप पस्ने मुस्लिम शरणार्थीको संख्या बढेको बढ्यै छ । यस्ता आप्रवासीलाई शरण दिने पक्षमा इयू गएपछि बेलायतीलाई त्यो निर्णय मन पर्ने कुरै भएन । मुस्लिम प्रतिको नकारात्मक सोचका पछाडी अर्को कारण पनि छ । विश्वमै सबैभन्दा विभत्स हत्या हिंसामा उत्रिएको वर्तमान समयको आतंककारी संगठन ‘इस्लामिक स्टेट (आइएस)’का जिहादीमा धेरै युरोपेली अनुहार देखिएका छन् । त्यसमध्ये बेलायती मूलका सबैभन्दा धेरै युवा आइएसको सदस्य भए । इयूले लिएको नीतिले बेलायतमा मुसलमान आप्रवासीको संख्या बढ्यो भने यस्ता जिहादी संगठनका सदस्य आफ्नै मुलुकभित्र धेरै हुनसक्छन् भन्ने डरका कारण पनि बेलायतीले बाहिरिने पक्षमा मत दिएको देखिन्छ ।
बेलायतीको जुनसुकै मनोविज्ञानले इयूबाट बाहिरिने जनमत बढी आएको भएपनि अबका केहीदिन भित्रै इयूबाट एउटा सदस्य राष्ट्रले संबन्धविच्छेदको सुरुवात गर्नेछ । धेरैले यसका लागि कम्तिमा दुई वर्ष लाग्ने बताएका छन् । जति समय लागेपनि अब बेलायत इयूको सदस्य नरहने निश्चित छ । इयूसँग पचास प्रतिशतभन्दा बढी आयात–निर्यात गर्ने र करिब १२ प्रतिशत इयूको बजेट बेहोर्ने बेलायत बाहिरिदा इयू पनि केही हदसम्म कमजोर हुनेछ । इयूभित्रका साना मुलुकले जर्मनीको ‘काउन्टर पार्टस्’ कोरुपमा हेर्ने गरेको बेलायत बाहिरिदा त्यसले संगठनभित्र पार्ने मनोवैज्ञानिक असर छदैछ ।
बेलायत बहिर्गमनले उब्जाएका केही सैदान्तीक र राजनीतिक प्रश्नका हल भने चाडै हुनेछैनन् । क्षेत्रीय सहयोग र क्षेत्रीय एकिकरण (रिजनल इन्ट्रिगेसन) का सिद्धान्त निर्माता लागि त यो अझ चुनौतीपूर्ण समय हो । दोस्रो विश्वयुद्धपछि इयूको पहिलो स्वरुपकोरुपमा ‘युरोपेली स्टिल र कोइला समुदाय’ बन्नेबेला धेरैले फ्रान्स र जर्मनीजस्ता दुस्मन राष्ट्र एक आपसमा आउलान् भनेर कल्पना समेत गरेका थिएनन् । तर, युद्धले थला परेको अर्थतन्त्र उठाउन पटक–पटक गरेर दुई सय वर्षभन्दा बढी युद्ध लडेका यी दुई युरोपेली शक्तिलाई एक आउनुपर्ने बाध्यता उत्पन्न भयो ।
युद्धले टाट उल्टेको अर्थतन्त्र माथी उठाउन विहारी मूलका पाकिस्तानी नागरिक एवं ‘हार्डवर्ड फेलो’ इकबाल अहमदका शब्दमा ‘क्विन अफ दी रुइन्स्’ बनेको अमेरिकाले दिने सहायता र विश्व बैंक एवं अन्तर्राष्ट्रिय मुद्राकोषले उपलब्ध गराउने ऋणले मात्र सम्भव थिएन । त्यससँग जुध्न एउटा बलियो क्षेत्रीय व्यापारको आधार बनाउनु समयको आवश्यकता ठाने–त्यसबेलाका फ्रान्सेली र जर्मन नेताहरुले । उनीहरुकै पहलमा ‘युरोपेली स्टिल र कोइला समुदाय’ निर्माण भयो । कालान्तरमा त्यही समूह क्षेत्रीय सहयोग र एकिकरणका विभिन्न चरण पार गर्दै र सदस्य थप्दै इयू बनेको हो । क्षेत्रीय एकिरणका सबै चरण पार गरेर राजनैतिक एकिरणमा पुगेको विश्वको एकमात्र समूह हो–इयू ।
क्षेत्रीय एकिरणमा विभिन्न चरण हुन्छन् । पहिलो चरणमा क्षेत्रीय सहयोगमा आउन सदस्य मुलुकहरु तयार हुनछन् । त्यसपछि सदस्य राष्ट्रले आपसमा सौविध्यप्राप्त व्यापार सम्झौता (प्रिफेरेन्सियल ट्रेड एग्रिमेन्ट–पिटिए) गर्छन् । जसमा सदस्यबिच पूर्णरुपमा व्यापार स्वतन्त्र नहुनसक्छ तर क्षेत्रीय संघभित्रको व्यापारलाई धेरै हदसम्म सहज बनाइएको हुन्छ । यसको दोस्रो चरण भनेको स्वतन्त्र व्यापार क्षेत्र (फ्रि ट्रेग एरिया–एफटिए) हो । दक्षिण एसियाली सहायोग संगठन (सार्क) अहिले यही चरणमा रहेको छ । जस अन्तर्गत दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) लागू भइसकेको छ ।
क्षेत्रीय एकिरण अन्तर्गतको तेस्रो चरण हो–भन्सार संघ (कस्टम युनियन) । भन्सार युनियनमा आवद्ध भएपछि सदस्य राष्ट्रले कुनै तेस्रो मुलुकसँग आफुखुशी भन्सार दर घटाउन वा बढाउन पाउदैनन् । क्षेत्रीय सदस्यहरु सहमत भएपछि मात्र उनीहरुले तेस्रो मुलुसँगको भन्सार दर घटाउन बढाउन पाउछन् । भन्सार संघमा आवद्ध भएपछि सबै सदस्य राष्ट्रको भन्सार दर एकै त हुन्छ नै कम दरमा तेस्रो मुलुबाट पाइने समान समेत सदस्यबिचमै उपलब्ध भए त्यसैलाई किन्नुपर्ने हुन्छ ।
भन्सार संघपछिको चरण भनेको क्षेत्रीय आर्थिक संघ (इकोनोमिक युनियन) हो । यो चरणमा पुगेपछि सदस्य मुलकहरुले आफ्ना आर्थिक नीति नियम बनाउनका लागि आर्थिक आयुक्तको नियुक्ती गर्छन् । आयुक्त कार्यालयले क्षेत्रीय हित अनुकुल बनाएका नियम सदस्य राष्ट्रमा लागू गरिन्छ । लागू गर्ने तरिका स्थान, समय र मुलुक अनुसार फरक हुनसक्छन् । तर, सदस्यबिच आर्थिक नीतिमा तालमेल मात्र होइन, वस्तु, सेवा र व्यक्तिको निर्वाध आवत–जावतलाई प्राथमिकता दिइन्छ । जस्तो कि, युरोपेली परिचयपत्रधारीले सदस्य मुलुकमा जहासुकै गएपनि आफ्नै मुलुकमा भए बराबरकै सुविधा पाउछन् ।
आर्थिक संघमा आवद्ध भएपछिको चरण भनेको मौद्रिक संघ (मनिटरी युनियन) मा आवद्ध हुने हो । यस्तो संघमा आवद्ध सदस्य राष्ट्रले एउटै मुद्रा मात्र चलाउदैनन्, त्यसलाई नियमन गर्ने केन्द्रीय बैंक समेत साझा हुन्छ । युरोपेली बैंकले त्यहाको साझा मुद्रा युरो निकाल्नुका साथै वित्तिय तथा मौद्रिक नीति समेत बनाउछ । आर्थिक एकिरणका यी सबै चरण पार गरेपछि मात्र क्षेत्रीय संघहरु राजनीतिक एकिरणमा अघि बढ्छन् । युरोमा यी सबै चरण पुरा भएर राजनीतिक एकिरण समेत भइसकेको छ । त्यहा युरोपेली संसद छ ।
राजनीतिक एकिकरणमा प्रवेश गरेपछि सदस्य मुलुकले आफ्नो स्वाधिनताको केही अंश सर्वोच्च राष्ट्रिय संस्थान (सुप्रानेसनल अर्गनाइजेसन) लाई सुम्पनु पर्छ । यसका दुई आधार हुन्छन्– एउटा तानिएको स्वाधिनता (पुल्ड सोभर्निटी) अर्को बाडिएको स्वाधिनता (सेयर्ड सोभर्निटी) । युरोपेली संघले तानिएको स्वाधिनताको प्रयोग गरिरहेको छ । जसको अर्थहुन्छ, युरोपेली संसदले छलफलका माध्यमबाट नयाँ नीतिहरु पारित गर्छ । त्यसलाई सदस्य मुलुकहरुले लागू गर्छन् ।

बेलायत युरोपको राजनीतिक एकिकरणको समेत हिस्सा बनिसकेको छ । तर, आर्थिक एकिकरणको पाटोमा भने यो मौद्रिक संघभित्र पसेको छैन । साझा मुद्राकारुपमा युरो चलिसक्दा पनि बेलायतले आफ्नै मुद्रा चलाइरहेको छ । कतिपय नीतिगत र व्यवहारिक कुराका लागि यसले पनि युरोपेली केन्द्रिय बैंकका नियम मान्नुपर्छ । तर पूर्णरुपमा मौद्रिक संघको सदस्य नभएकाले छुट्टिएपछि पनि युरो अपनाउने मुलुकलाई जस्तो समस्या भने पर्ने छैन ।
युरोपेली संघबाट बेलायत बाहिरिने निर्णयसँगै अब क्षेत्रीय एकिरण सिद्धान्तको सफलता/असफलमामा चर्को बहस हुने निश्चित छ । अन्तर्राष्ट्रिय सम्बन्धका अध्येताबिच तिख्खर बहस आरम्भ भइसकेको छ । ग्रिस टाट पल्टेर युरो समुदायमा रहने/नरहने जनमतसंग्रहको घोषणा हुदा नोबल पुरस्कार विजेत अर्थशास्त्री जोसेफ स्टिग्लेटले ‘द गार्जियन’मा एउटा लेख लेखेर युरोपेली केन्द्रिय बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष र विश्वबैंकको भुमिकाको आलोचना गरे । उनले ग्रिसलाई टाट पल्टाउने अवस्थामा पुर्‍याउन भुमिका यीनै संस्थाले खेलेको आरोप लगाएका थिए । जोसेफले सिधै ग्रिसलाई युरो जोनबाट बाहिर जान सुझाव नदिएपनि क्षेत्रीय संघहरुले खेल्ने गरेको भुमिकाले गर्दा ग्रिस जस्ता मुलुक अझै समस्यामा फस्दै जाने भविष्यवाणी गरे । विश्व बैंकको मुख्य आर्थशास्त्री भइसकेका उनले पछिल्लो समयामा विश्वव्यापीकरणका नाममा हुने ‘कट्टरपन्थी खुला बजार’ माथि कडा टिप्पणी गर्दै आएका छन् । जो– विश्वबैंक र मुद्राकोषको कडा आलोचककोरुपमा चिनिदै आएका छन् ।
जोसेफ मात्र होइन, वेलायतको बहिर्गमनपछि अब धेरै क्षेत्रीय एकिकरण पक्षधरसमेत यसको व्यवहारिक पक्षमा आलोचक बन्ने अवस्था आएको छ । सन् १९९० पछि अमेरिका केन्द्रित एक ध्रुविय विश्वमा युरोपेली संघजस्तै नयाँ उदय भएका क्षेत्रीय संगठनलाई अर्को धुव्रको नेतृत्व गर्ने शक्तिकारुपमा हेर्न थालिएको थियो । त्यसैले क्षेत्रीय एकिकरणका विद्वानहरुले अहिलेको विश्वलाई बहु धुव्रिय (मल्टिपोलर) भन्न थालेका थिए । त्यसको उदाहरणकोरुपमा उनीहरुले इयू, दक्षिण पूर्वी एसियाली सहयोग संगठन (आसिआन), अफ्रिकी संघ (एयू), सार्कलगायतका संगठन मात्र होइन, ब्रिक्स (ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका) जस्ता संस्थालाई बहु ध्रुविय नेतृत्वकर्ता सस्थाकोरुपमा ब्याख्या गरिरहेका थिए ।
गत वर्षको ग्रिस समस्या र त्यो भन्दा भिन्न प्रकृतिको आन्तरिक कारणबाट बेलायतइयू बाहिर बस्ने निर्णयले विश्वलाई बहु ध्रुवीय भनी व्याख्या गर्नेका लागि भने चुनौती बनेर आएका छन् । फेरि एकपटक विश्व एकै धु्रवमा सिमित हुने हो की भन्ने आशंकाका बिच, धेरैले नब्बेको दशकमा ‘इतिहासको अन्त्य र अन्तिम मान्छे’ लेख्ने फ्रान्सिस फुकुयामाको तर्ककालाई सम्झदैछन् ।

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु