Skip to main content

Posts

खरानी र खण्डहरको देश- २

देशको वर्तमान अवस्थाबारे लेखूँ कि नलेखूँ भन्ने मनस्थितिमा केही त लेख्नै पर्ने भयो। ००० सत्ता र त्यसका मठाधीशप्रति वर्षौँदेखि नागरिक तहमा गुम्सिएको आक्रोश यो पटक नवपुस्ताको अगुवाइमा अभिव्यक्त भयो। त्यो स्वतःस्फूर्त थियो। स्वचालित थियो। त्यसको कथा वा पटकथा कसैले लेखिदिएको थिएन। नेतृत्व थियो न त्यसलाई अवतरण गराउने खाका र तयारी। त्यो एउटा आँधी थियो, हुरी थियो, भूकम्प थियो। देशका सबै नदीमा आएको थाम्नै नसकिने बाढी थियो। स्वतःस्फूर्त र नेतृत्वविहीन आन्दोलन परम्परागत दलले गर्ने जस्तो सङ्गठित हुँदैन। आन्दोलनकारीमा दलीय अनुशासन हुँदैन। लक्ष्य र उद्देश्यहरू स्पष्ट नहुन सक्छन्। उपलब्धिलाई संस्थागत गर्ने मार्ग प्रस्ट नहुन सक्छ। त्यो थाहा पाउन इन्टरनेट र सामाजिक सञ्जालको व्यापक उपयोगबाट आह्वान भएका पछिल्ला आन्दोलन र अभियान हेरे पुग्छ। विगत दुई दशकभित्र संसारभरि भएका कैयौँ आन्दोलनको विश्लेषण गर्दा हुन्छ। चाहे ती अमेरिकाका ‘टी पार्टी मुभमेन्ट’, ‘अक्युपाई वालस्ट्रिट’ हुन् वा अरब वसन्त, हङ्कङको छाता आन्दोलन अनि विभिन्न देशमा चलेको पछिल्लो ‘नेपोबेबी’ वा ‘नेपोकिड्स’ अभियान, ती सबैको नतिजा लगभग उस्तै देखिन...
Recent posts

खरानी र खण्डहरको देश- १

Tweet लगभग दुई दशकको सक्रिय पत्रकारिताबाट विश्राम लिएर अहिले म भारतको दिल्लीस्थित साउथ एसियन युनिभर्सिटीमा विद्यावारिधि गर्दै छु। म यहाँ आएको ४३ र ४४औँ दिन (भदौ २३ र २४ गते, २०८२) नेपालमा जेजस्ता घटना भए ती सायदै कुनै नेपालीले देखेका न कल्पना गरेका थिए। पहिलो दिन नवपुस्ताका निर्दोष युवाहरूको निर्मम हत्या भयो, दोस्रो दिन देशको अभिलेख, इतिहास, पूर्वाधार र सभ्यताका सङ्केतलाई समाप्त पार्ने काम भयो। जुन दिन सिंहदरबार र सर्वोच्च अदालत दनदनी बल्दै थिए त्यसै दिन म दिल्लीबाट रेलमा मुम्बईतर्फ जाँदै थिएँ। एउटा प्राज्ञिक कार्यशालामा कार्यपत्र प्रस्तुतिका लागि गइरहेको म रेलमा बेचैन भएँ। भाव विह्वल बनेँ। एक्लै रोएँ। एक्लै टोलाएँ। नेपालको सन्दर्भ नबुझेका साथीलाई कोट्याई कोट्याइ पछिल्लो अवस्था अवगत गराएँ। मसँग मेरा भावना व्यक्त गर्ने वाक्य थिएनन्। आफैँलाई सान्त्वना दिने शब्दहरू थिएनन्। कार्यपत्र प्रस्तुति र संवादका लागि जाँदै गरेको मलाई कार्यपत्रबारे चासो थियो न संवादको विषयवस्तुतिर ध्यान। मेरो मन र मस्तिष्क दुवै स्थिर बनेका थिए। केही सोच्नै नसक्ने भएको थिएँ। मुम्बई पुगेर मैले कार्यपत्र प्रस्तुत गरेँ।...

नागरिकता

Tweet लाग्छ नागरिकता रूपी यो कागतको खोस्टो च्यातिदिउँ र, जलाइदिउँ त्यसका टुक्राहरुलाई सिंहदरबारको गेटमा लगेर सर्वोच्च अदालतको बेञ्चमा लगेर।

बाग्मती

Tweet विष्णु पोखरेल कपाल फुलेर सेतो बनेझैँ हिउ फुलेर सगरमाथा कालो बनेका बेला छेउमा आएर भन्छौँ– ‘बाग्मती दुर्गन्धित भयो, सफा गर्न जाऔँ ।’ एक मनले सोच्छु– ‘ठिकै भन्दैछौँ बाग्मती सफा गर्नु  धुलाम्मे बनेको सभ्यताको एउटा पुस्तक टक्टक्याउनु हो, भूँइचालोले भत्काएको भग्नावशेषबाट एकजोडी घाइते प्रेमिलाई अंकमाल गरिरहकै अवस्थामा उद्दार गर्नु हो ।’ हुर्कदै गरेको बाख्राको पाठोझैँ चुलबुल गरिरहने मन स्थिर हुन कहाँ सक्छ र ? अर्को मनले भन्छ– ‘पख, पख बाग्मतीमा अहिले पानी होइन ढल बग्छ, सुगन्ध होइन, दुर्गन्ध फैलन्छ पक्कै तलाई पत्तो नहोला अचेल त्यहाँ सभ्यता होइन सत्ता र सत्ताको छायाँ सँगसँगै बग्दछ ।’

जनयुद्ध

Tweet विष्णु पोखरेल  महिनौँ समुद्र उम्लेर आकाशमा उडेको बादल मनसुन आगमनले हिउँ, पानी र असिना बनेर एकैसाथ झर्दै गर्दा खोज्दै थियौ तिमी हत्केलाले बादल छेक्न । वर्षौँ पहिले तिम्रा गुरुले रोपेको वर्गरहित मुलुकरुपी वर–पिपल साइबेरियाको सिरेटोले खाएर हरिया जरामा धमिरा लाग्दै गर्दा रोप्दैँ थियौ तिमी मेरा मुलुकमा ‘डेट एक्पायर’ सपनाका बीऊ । फाटेका मनहरू जोड्ने आकांक्षाले वर्गहितका लागि खडा गरिएको बर्लिन पर्खाल ढल्दैगर्दा मेरा गाउँमा तिमी लगाउँदै थियौ जातियाता र क्षेत्रियताका अग्ला पर्खालहरू । संसारभर तिम्रा दार्शनिक गुरुका धर्मग्रन्थहरू जल्दैगर्दा बाल्दै थियौ तिमी मेरा पाठशालामा नैतिक शिक्षाका पाठ्यपुस्तकहरू । ‘डिजिटल डिभाइस’मा बालबालिकाले ‘भर्चुअल क्लास’ लिने युगमा खोल्दै थियौ गाउँ–गाउँमा ‘दुस्मन’ र ‘मित्र’ शक्तिका पाठ पढाउने कम्युनहरू ।

कविता

Tweet आङ साङ सुची विष्णु पोखरेल  मृत्युरेखा पार गर्दै गर्दा सम्झदैँ छु तिम्रा चम्किला आँखा जसमा देखिन्छन् प्रतिशोधका प्रतिच्छायाहरू थाहा छ तिमी बोल्न सक्ने छैनौ जसरी हिजो बोल्थ्यौ हास्न सक्ने छैनौ जसरी हिजो हास्थ्यौ र, यो पनि थाहा छ तिमी गर्जन सक्ने छैनौ बाघलेझैँ– जसरी नजरबन्दका बेला घरको कौसीमा निस्केर हात हल्लाउदै गर्जन्थ्यौ मृत्यु रेखा पार गर्दैगर्दा कुल्चिरहेछु, कैयौँ रात ढुकढुकी बिसाउन संघर्ष गर्दै प्राण त्यागेका आत्माहरू सुँघिरहेछु, तिनबाट निस्कने दुर्गन्ध नाघिरहेछु, पिताको छातिमा गोली वर्षदाकी तिमी जस्तै कैयौँ नानीको बलात्कृत जाँघबाट चुहिएका रक्तरेखाहरू ओ ! मेरी शान्ति र अहिंसाकी प्रतिमूर्ति ! म आफ्नै भूमीबाट घरबारविहीन भएर मृत्युरेखा पार गर्दैगर्दा तिमी भन्दैछौ– ‘मेरो देशले कसैलाई पनि घरबारविहीन बनाएको छैन’ मेरी प्यारी शान्तिकी प्रतिमूर्ति ! एकपटक तिम्रो बैठक कक्षमा जाऊ र, सोध भित्तामा झुन्ड्याएको अल्फ्रेड नोबेललाई ‘साच्चै म सत्य बोलिरहेकी छु ?’ सायद नोबेल आउँनेछ चिहानबाट उठेर अनि, भन्नेछ– ‘तिमी सत्य बोल्दैछौ वा असत्य मलाई थ...